Technology Khabar २१ पुष २०७९, बिहीबार
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायकहरुले पोखरा क्षेत्रका सेवा प्रदायकहरुको संचालन केन्द्रमा नै नेपाल विद्युत प्राधिकरणले विद्युतीय सेवा अवरुद्ध गरिदिएको बताएका छन्।
सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपालले प्रेस विज्ञप्ती जारी गर्दै पोखरा क्षेत्रमा अब कुनैपनि बेला इन्टरनेट सेवा बन्द हुने चेतावनी दिएको छ। यसका साथै उनीहरुले विद्युतीय सेवा अवरुद्ध गरिएकोमा यसको क्षतिपूर्ति समेत माग गरेका छन्।
“पोखरामा इन्टरनेट सेवा प्रदायकहरुको मुख्य अपरेशन सेन्टर (Operation Center) मा नेपाल विद्युत प्राधिकरणले छानेरै विद्युत विच्छेद गरेको छ (सेवा प्रदायकहरुले विद्युत महसुल नियमित रुपमा भुक्तानी गर्दागर्दै)। हामी सेवा प्रदायकहरुले हरसम्भव प्रयास गर्दा पनि अपरेसन सुचारु गर्न नसक्ने अवस्था आएकोले कुनै पनि समयमा पोखरा तथा पोखरा आसपासका क्षेत्रहरुमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ,” आईस्पानका अध्यक्ष सुधिर पराजुलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ। यसका साथै आइस्पानले उक्त विद्युत सेवा बन्द गर्ने कार्यको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिई क्षतिपूर्ति समेत दिनुपर्ने माग गरेको छ।
यसअघि आइस्पानले पत्रकार सम्मेलन नै गरेर विद्युत प्राधिकरणले अचाक्लि (६००-७०० प्रतिशतसम्म) आफूखुसी भाडा बढाए पश्चात सो भार उपभोक्तामा पर्न नदिन राज्यले उच्च स्तरिय समिति गठन गरी प्रतिवेदन दिई घटेको भाडादरमा इन्टरनेट सेवा प्रदायकहरुसंग भाडा लिन भनेकोमा विद्युत प्राधिकरणले ठिक विपरित आफूखुशी तोकेको भाडादरमै सम्झौता गरी भुक्तानी गर्न भन्दै गलत/गैरकानुनी ढङ्गले भाडा असुल गर्न खोजेको बताएको छ।
यसअघि आइस्पानले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलगायतका निकायहरुमा समेत सत्य तथ्य प्रस्तुत गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दा पनि स्थितिमा कुनै सुधार नआएको उल्लेख गरेको छ।
प्रकाशित: २१ पुष २०७९, बिहीबार