Technology Khabar ४ असार २०७४, आईतवार
काठमाडौं ।
काठमाडौं, ४ असार । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले नेपालमा इन्टरनेट कनेक्सन सेवा महंगो भएको हुँदा आगामी दिनमा त्यसको मूल्य घटाउने प्रयास भईरहेको जानकारी दिए ।
इन्टरनेट प्रविधि र नेटवर्किङको नविनतम विकासको बारेमा जानकारी दिने उदेश्यले आयोजना गरिएको कार्यशालासहितको सम्मेलन एनपीएनओजी २ मा बोल्दै उनले आगामी दिनमा नेपालमा आउने इन्टरनेट कनेक्सनको शुल्क घटाउने बताएका हुन् ।
‘करिब २ वर्षअगाडिसम्म ४० अमेरिकी डलर प्रति एमबी/प्रति महिना इन्टरनेटको शुल्क थियो अहिले त्यो घटेर करिब १५ अमेरिकी डलरमा आएको छ, अर्को वर्षसम्ममा त्यसलाई ५।७ अमेरिकी डलर प्रति एमबी/प्रति महिना बनाउने प्रयासमा लागेका छौं,’ उनले भने ।
अध्यक्ष झाका अनुसार हाल भारतीय टेलीकम कम्पनीहरु यो क्षेत्रमा भारती र टाटासँग मात्र सहकार्य रहेकोमा आगामी दिनमा रिलायन्स टेलिकम पनि आउने तयारीमा रहेको हुँदा प्रतिस्पर्धा वृद्धि हुनेछ । त्यस्तै चीनको बाटो हंगकंग हुँदै नेपालमा आवश्यक ब्रोडब्याण्ड ल्याउँदा त्यसले पनि शुल्क घट्ने उनको भनाई थियो ।
उनले बाटोमा रहेका पोलहरुमा अधिक तारले शहरलाई कुरुप बनाएको भन्दै त्यसलाई आगामी दिनमा भूमिगत गरिने बताए ।
‘हामी किर्तिपुर वा सोल्टीमोडदेखि एयरपोर्टसम्म तारहरुलाई भूमिगत गर्न सकिन्छ की भनेर अध्ययन गरिरहेका छौं, हामीसँग रकम छ तर त्यस्तो प्रविधि छैन्, तपाईँहरुले त्यसमा प्राविधिक सहयोग गर्न सक्नुहुन्छ,’ अध्यक्ष झाले भने ।
कार्यक्रममा प्राधिकरणका निर्देशक आनन्द राज खनालले नेपालमा ब्रोडब्याण्डको क्षेत्रमा भएका विकास र नीतिगत सुधारको विषयमा जानकारी दिएका थिए भने फेसबुकका इन्टरकनेक्सन म्यानेजर मेट जान्सेनले फेसबुकको नेटवर्किङको विषयमा जानकारी प्रदान गरेका थिए ।
एनपीएनओजी प्रेसिडेन्ट समित जानाले सूचना प्रविधिका जनशक्तिलाई सम्बन्धित क्षेत्रमा भएका नयाँ विकासक्रमको बारेमा जानकारी दिन सम्मेलन आयोजना गरिएको बताए । उनकाअनुसार आगामी दिनमा पनि यस्तो सम्मेलनहरु निरन्तर गरिनेछ ।
इन्टरनेट एक्सचेन्ज नेपाल र इन्टरनेट सेवा प्रदायक एवं सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप(एनपिएनओजीले) आयोजना गरेको कार्यशालासहितको सो सम्मेलनमा विश्वमा भईरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल तथा अनुभव आदान प्रदान गरिएको हो ।
४ दिने कार्यशालामा नेपालभरका करिब ११५ जना सूचना प्रविधिको क्षेत्रमा आबद्ध व्यक्तिहरु सहभागी रहेका थिए ।
कार्यशालामा आइपीभी ४/आइपीभी ६, नेटवर्क म्यानेजमेन्ट एण्ड मोनिटरिंग, अप्टिकल फाइबर नेटवर्किङका विषयमा छलफल गरिएको थियो ।
प्रकाशित: ४ असार २०७४, आईतवार