Technology Khabar १२ पुष २०७९, मंगलवार
काठमाडौं ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का वडाध्यक्ष विमलप्रसाद पौड्यालले आफ्नो तलब भत्ताबापत पाउने रकमले वडाका विद्यालयलाई कम्प्युटर, प्रिन्टरलगायतका सूचना प्रविधिका सामग्री सहयोग गरेको छ।
मासिक रूपमा निर्वाचित भएयता पाएको तलब भत्ता एक लाख ६० हजार रुपियाँमा अपुग रकम थपेर वडाध्यक्ष पौड्यालले एउटा माध्यमिक र तीन आधारभूत विद्यालयलाई प्रविधिमैत्री सामग्री खरिद गरी सहयोग गरेका हुन्।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मत माग्ने बेला आफूले तलब भत्ताले सहयोग गर्ने वाचा गरेका हुनाले वडाका विद्यालयलाई प्रविधिमैत्री बनाउन विद्यालयमा एउटा कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर उपलब्ध गराइएको उनले बताए।
“मासिक रूपमा मैले पाउने २० हजार रुपियाँ हो, त्यही जम्मा पार्ने, अपुग रकममा थप गर्ने र बाँकी विद्यालयमा पनि कम्प्युटर दिने लक्ष्यमा छु,” पौड्यालले भने। बाह्रबिसे नगरपालिका–८ मा एउटा माध्यमिक र छवटा आधारभूत विद्यालय छन् । वडा कार्यालयमा तलब भत्ताकै रकमले एउटा सीसीटीभीसमेत किनिदिएको उनले जानकारी दिए।
वडाको जम्बुस्थित सेतीदेवी पञ्चकन्या आधारभूत विद्यालय, सीताराम आधारभूत विद्यालय, महाकाली आधारभूत विद्यालय र भद्रकाली माध्यमिक विद्यालयलाई सामग्री वितरण गरिएको हो । बाह्रबिसे नगरको शिरघुडे लेक क्षेत्रमा रहेको सीताराम आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेलले कम्प्युटरसहित अन्य सामग्रीले विद्यालयका बालबालिकाको पढाइमा सहजता ल्याउने बताए।
पौडेलले भने, “लेकमा कम्प्युटर नभएर समस्या थियो। अहिले वडाध्यक्षज्यूले किनिदिनु भएपछि धेरै सहज भएको छ, अहिले पाठ्यक्रम बाहेक वा इन्टरनेटको माध्यमबाट नयाँ कुरा पढाउन र अध्यापन गराउन धेरै सहज भएको छ।”
त्यसैगरी बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले आफ्नो तलब भत्ताले गाउँपालिकाभरका बेसहारा र पीडितलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा जस्ता कुरामा खर्चने गरेका छन्। ‘पीडितसँग मेयर’ अभियान लिएर गाउँटोल पुग्दै मासिक रूपमा तलब भत्ताबापत पाउने ३९ हजार रुपियाँसहित अन्य भत्ता रकमले नगरभरका अशक्त, पीडित र वृद्धवृद्धालाई उनले आवश्यक सामग्री सहयोग गर्ने गरेका छन्।
बाह्रबिसे नगर क्षेत्रमा रहेका विपन्न वर्गका पीडितको अवस्था अध्ययन गर्दा अनेकौँ अभाव भएको पाएपछि आफूले यस्तो अभियान चलाएको नगर प्रमुख बस्नेतले बताए।
गत मङ्गलबार स्थानीय कविता थामीको मृत्युुपछि थामीको परिवार र दुईमहिने शिशुलाई पौष्टिक आहारका लागि नगरपालिकाबाट दुई वर्षसम्म मासिक पाँच हजार रुपियाँ उपलब्ध गराउने व्यवस्था गरेको र आफ्नो यो महिनाको तलब भत्ताले सहयोग गरेर अन्य सहयोगको प्रतिबद्धता नगर प्रमुख बस्नेतले दिए। गोरखापत्रबाट
प्रकाशित: १२ पुष २०७९, मंगलवार