जाँदाजाँदै सञ्चारमन्त्री कार्कीले भनेः ‘नेपाललाई आइटी हब बनाउनुपर्छ, सदैब सहयोगी हुनेछु’

  • Technology Khabar | ११ पुष २०७९, सोमबार
जाँदाजाँदै सञ्चारमन्त्री कार्कीले भनेः ‘नेपाललाई आइटी हब बनाउनुपर्छ, सदैब सहयोगी हुनेछु’
फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आइटी हब बनाउनुपर्ने बताएका छन्। सोमबार मन्त्रालयबाट बिदाइ हुने क्रममा आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री कार्कीले नेपाललाई हरेक तरिकाले आइटी हब बनाउन सकिने बताएका हुन्।

उनले नेपाल आइटी र शिक्षाको केन्द्र बन्न सबै किसिमबाट उपयुक्त भएको भन्दै देशलाई अबको पाँच वर्षमा आइटी हबको रूपमा विकास गर्न जरुरी रहेको धारणा व्यक्त गरे।

नेपाली युवायुवतीहरू बिदेसिन बाध्य भएको भन्दै देशका युवायुवतीहरूलाई घर, परिवार र आफ्नै समाजमा बसेर विदेशी मुद्रा आर्जन गराउने आइटी हब नेपाललाई बनाउनुपर्ने मन्त्री कार्कीको भनाइ छ।

उनले नेपाललाई आइटीको हब बनाउने कुरामा आफू सदैव सकारात्मक र सहयोगी हुने प्रतिबद्धतासमेत जनाए।

‘‘अहिले विदेशमा हाम्रा धेरै युवायुवतीहरू जानुपरेको छ। उहाँहरूले पठाएको रेमिट्यान्सबाट हाम्रो मुलुकको अर्थतन्त्र चल्नमा धेरै ठूलो मद्दत गरेको छ। हामीले हाम्रै देशका युवायुवतीहरूलाई हाम्रै घर परिवारसँग बसेर समाजमा बसेर एउटा ५० हजारको ल्यापटप किनेर विदेशी मुद्रा आर्जन गराउने आइटी हब नेपाललाई कसरी बनाउन सकिन्छ, त्यस दिशातर्फ हाम्रो ध्यान गम्भीर रूपले जान जरुरी छ,’’ मन्त्री कार्कीले भने।

उनले नेपाल आइटी हब हुनका निमित्त क्लाइमेट, शिक्षा लगायत सबै हिसाबले आइटी हब बनाउन उपयुक्त रहेको बताए। यसैगरी उनले आगामी पाँच वर्षमा पूर्वाधार, जलश्रोतको विकास गरेर मुलुकले गति लिएको आभास जनतालाई दिनुपर्ने बताए।

प्रकाशित: ११ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार