
काठमाडौं ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ धनेश्वर नजिक सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ।
केन्द्रको मुख्य भवनको अग्रभाग पनि पुनः सजावट गर्न थालिएको छ।
सरकारले आर्थिक वर्ष २०७४/७५ देखि सुरक्षण मुद्रण छापाखाना स्थापनाका लागि आफ्नो नीति तथा कार्यक्रममा बजेट व्यवस्था गर्दै आवश्यक पर्ने संरचना निर्माणको काम अघि बढाउँदै आएको छ।
केन्द्रका शाखा अधिकृत हरिबल्लभ घिमिरेले सुरक्षण मुद्रण छापाखानाका लागि आवश्यक पर्ने पूर्वाधारहरू बहुउद्देश्यीय भवन निर्माण, छापाखाना रहने स्थानमा टेवा पर्खाल लगाउने काम भइरहेको बताए। उनले अघिल्लो आर्थिक बर्षदेखि सुरु भएको बहुउद्देश्यीय भवन निर्माणको काम ४० प्रतिशत सकिएको भन्दै आगामी चैत मसान्तभित्र बहुउद्देश्यीय भवन निर्माणको काम सम्पन्न हुने बताए।
भ्याटबाहेक ३५ करोड नौ हजार ८१८ रुपियाँको लागतमा समानान्तर रबिना हिमालयन जेभीले भवन निर्माणको काम गर्दै आएको छ। उनले छापाखानाका लागि आवश्यक पर्ने बहुउद्देश्यीय भवन निर्माणसँगै अघिल्लो आर्थिक वर्षमै ठेक्का भएको छापाखाना रहने स्थानको सुरक्षाका लागि आन्तरिक सडक निर्माणको कामसमेत भइरहेको बताए। आन्तरिक सडक निर्माणको काम फागुन मसान्तसम्म सम्पन्न हुनेछ।
केन्द्रका अधिकृत घिमिरेले चालू आर्थिक वर्षमा छापाखाना सञ्चालनका लागि जडान गरिएको लो भोल्टेज पावर डिस्ट्रिब्युसन सिस्टमअन्तर्गत जेनेरेटरदेखि छापाखाना सञ्चालनका मेसिनसम्म बिद्युत् जडानको काम गरिने बताए। यसैगरी चालू आर्थिक वर्षमै अन्तशुल्क स्टिकर, रिचार्ज कार्ड, नेपाल सरकारका प्रमाणपत्र छाप्ने भ अपसेट मेसिन खरिदको लागि बोलपत्र भई आशयपत्र माग गरेको बताए।
यसैगरी आन्तरिक राजस्व विभागले ४३ करोड ३२ थान अन्तशुल्क स्टिकर छाप्ने ठेक्का दिएकोमा आशयपत्र माग गरिएको छ। सुरुमा सूचना प्रविधि पार्कको प्रयोजनका लागि बनाइएको र हाल सुरक्षण मुद्रण छापाखाना रहने भवनमा पुराना झ्याल तथा ढोका हटाएर नयाँ झ्यालढोका हाल्ने कामसमेत भइरहेको छ।
राहदानी, बैंक नोटलगायतका वस्तुको छपाइ बापत विदेशी मुलुकमा जाने रकम स्वदेशमै रोक्ने र सुरक्षण मुद्रण सम्बन्धी सेवा र वस्तु विदेशी बजारमा उपलब्ध गराएबापत देशमा आम्दानी गर्ने उद्देश्यले सरकारले छापाखाना स्थापना गर्ने योजना अघि बढाएको हो।
डाल सुरक्षण मुद्रण छापाखाना रहने (तत्कालीन सूचनाप्रविधि पार्कको बहुउद्देश्यीय भवनमा छापाखानाका लागि अन्त शुल्क स्टिकर छाप्ने दुई थान हाई सेक्युर डिजिटल प्रिन्टिङ मेसिन (उच्च सुरक्षित डिजिटल मुद्रण मेसिन) र एक थान डाई कटिङ मेसिन खरिद गरी जडान गर्ने काम सम्पन्न भएको छ।
आर्थिक वर्ष २०७७/७८ मा विनियोजन भएको करिब ७३ करोड रुपियाँ बजेटबाट उच्च सुरक्षित डिजिटल मुद्रण मेसिन, डाई कटिङ मेसिन र केही थान सूचनाप्रविधिका उपकरण खरिद गरिएको थियो। यस्तै छापाखाना सञ्चालनका लागि आवश्यक पर्ने वैकल्पिक ऊर्जाका लागि चार मेगावाट जेनेरेटरको व्यवस्थापन गरिएको छ भने एक/एक लाख लिटरका दुईवटा खानेपानी ट्याङ्की निर्माणको काम सम्पन्न भएको छ। त्यसैगरी वैकल्पिक ऊर्जाका लागि तीन लाख लिटरको भूमिगत इन्धन भण्डारण ट्याक्को निर्माण, सूचनाप्रविधि पार्कभित्रका भवनहरूको मर्मतसम्भार र विद्युत् लाइन भूमिस्थ गर्ने काम सम्पन्न भइसकेको छ।
विसं. २०५७ मा निर्माण सुरु गरिएको आईटी पार्क २०६१ सालमा निर्माण सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । नेपाल सरकारलाई हस्तान्तरण भएपछि २०६३ मसिरदेखि विभिन्न कम्पनीले काम गरे पनि विभिन्न कारण देखाउँदै पार्क छाडेका थिए ।
हालको बहुउद्देश्यीय भवनको २०७८ चैत १५ गते पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिलान्यास गरेका थिए। ५० मिटर लम्बाइ र २५ मिटर चौडाइ क्षेत्रफलमा निर्माण भएको उक्त भवनमा सुरक्षित छपाइका कागज, मसी तथा अन्य कच्चा पदार्थ लामो समयसम्म भण्डारण गर्न सकिने जनाइएको छ। गोरखापत्रबाट
प्रकाशित: ११ पुष २०७९, सोमबार