राइड सेयरिङ कम्पनी इनड्राइभले भन्यो- ‘हामी नेपालमा दर्ता प्रक्रियामा छौं’

  • Technology Khabar | ७ पुष २०७९, बिहीबार
राइड सेयरिङ कम्पनी इनड्राइभले भन्यो- ‘हामी नेपालमा दर्ता प्रक्रियामा छौं’

काठमाडौं ।

राइड सेयरिङ कम्पनी ‘इनड्राइभ’ ले नेपालमा विधिवत् दर्ता प्रक्रियामा प्रवेश गरेको बताएको छ।

‘इनड्राइभ’ले सन् २०१९ देखि नै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन बमोजिम नेपालमा कानुनी संस्था दर्ता गराउने प्रक्रिया थालेको थियो भने नोभेम्बर १७, सन् २०२२ मा आवश्यक विदेशी लगानी आवेदन पनि उद्योग विभागमा बुझाएको छ। कम्पनीले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेर दर्ता प्रकृयामा रहेको जानकारी दिएको हो।

इनड्राइभले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी देशमा पूर्णरूपमा नियम कानुन पालना गर्न सक्दो प्रयास गरिरहेका छौं। यद्यपि, संस्था दर्ता प्रकृयाले अपेक्षा गरेभन्दा बढी समय लिइरहेको छ।’

हाल कम्पनीको रूपमा आफूहरुले कुनै आम्दानी र नाफा नकमाउने र चालकबाट कुनै कमिसन नलिएको पनि इनड्राइभले बताएको छ।

‘यसबाहेक इनड्राइभले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सिर्जना गरेर स्थानीय अर्थव्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘इनड्राइभको साथ नेपाली चालकहरूले पैसा कमाउने अवसर पाउँछन् जबकि सबै नेपालीहरूले आफ्नो दैनिक सवारीमा यात्रा गर्दा आफ्नो पैसा बचत गर्न सक्छन् ।’

सुरक्षालाई इनड्राइभमा सबैभन्दा प्राथमिक चासो र चिन्ताको विषय मानेर यात्रु र चालक दुवैका लागि सेवालाई सुरक्षित बनाउन प्रयास गरेको जनाएको छ।

‘हाम्रो एपले आफैँमा सुरक्षा प्रवर्द्धन गर्ने सुविधाहरू पनि समावेश गर्दछ, जसमा स्थान–साझेदारी सुविधा र स्थानीय पुलिससँग सिधै जोडिनसक्ने गरी आपातकालीन कल बटन समावेश गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

यसका साथै कम्पनीले प्लेटफर्ममा रहेका चालकहरूलाई आफ्ना यात्रुहरूलाई सेवा प्रदान गर्न अनुमति दिनुअघि कोर टोलीले राम्ररी जाँच र प्रमाणीकरण गरेको दाबी समेत गरेको छ।

सरकारी निकायहरुले दर्ता प्रकृयालाई सहज र तीब्रता प्रदान गर्ने अपेक्षा गरिएको पनि इनड्राइभले जनाएको छ।

यसअघि इनड्राइभर नाममा नेपालमा सेवा शुरु गरेको कम्पनीले हाल आफूलाई इनड्राइभ नाममा रुपान्तरण गरेको छ।

प्रकाशित: ७ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार