बिग्रिए जडान गरिएका सीसी क्यामरा

  • Technology Khabar | ७ पुष २०७९, बिहीबार
बिग्रिए जडान गरिएका सीसी क्यामरा
सांकेतिक तस्बिर

काठमाडौं ।

पूर्वी नवलपरासीका मुख्य नाकामा जडान गरिएका ७८ प्रतिशत सीसीटीभी क्यामरा बिग्रिएका छन्। सीसीटीभी क्यामराले काम नगर्दा अनुसन्धानमा असहज भएको प्रहरीले जनाएको छ।

नवलपुरका विभिन्न १० स्थानमा १२५ वटा सीसीटीभी क्यामरा जडान गरिएका छन्। जसमध्ये ६८ वटा सीसीटीभी क्यामरा नचल्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुबनेश्वर तिवारीले बताए।

लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रण गर्नका साथै आपराधिक घटनाको नियन्त्रण र अनुसन्धान सहज बनाउन नवलपुरका मुख्य नाकामा अत्याधुनिक प्रणालीसहित सीसीटीभी जडान गरिएको थियो। तर समय समयमा आउने हावाहुरी, पानी, चट्याङ र नारायणघाट बुटबल सडक विस्तारका कारण बिग्रिएका सीसीटीभी क्यामरा मर्मत गर्न आवश्यक भएको उनले बताए।

जिल्ला प्रहरी कार्यालयका अनुसार भारतीय सीमानाका नजिक रहेको कारण लागूऔषध ओसारपसार तथा कारोबार समस्या बढ्दै गएको छ। प्रहरी उपरीक्षक तिबारीले भने, “अपराध गरेर वा दुर्घटना गराएर सवारी भाग्ने गरेका छन्। सबै सीसी क्यामराको छिटो मर्मत गरे सञ्चालन अनुसन्धान सजिलो हुन्छ।”

आपराधिक गतिविधि निगरानीका लागि आर्थिक वर्ष २०७८/७२ मात्र गैंडाकोटमा १३, देवचुलीमा दुई मध्यबिन्दुमा सात गरी २२ ओटा जडान गरिएको छ। त्यस्तै २०७९/८० को हालसम्म कार्यालय परिसरमा आठ र गैंडाकोटमा तीन गरी ११ ओटा जडान गरिएको छ।

प्रदेश प्रहरी कार्यालय पोखराले आफ्नो प्रदेशको प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा बनाउँदै सडकमा हुने घटना तथा दुर्घटना न्यूनीकरण गर्न अत्याधुनिक सीसीटीभी जडानमा सहयोग गरेको हो। दुर्घटना गराएर भाग्ने सवारीसाधन तथा ट्राफिक नियम उल्लघन गर्नेहरूलाई पहिचान गरी कारबाहीमा पनि यसले ठूलो मद्दत मिल्ने गरेको छ। गोरखापत्रबाट

प्रकाशित: ७ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार