मोबाइलका कारण दम्पतीको हत्या

  • Technology Khabar | ३ पुष २०७९, आईतवार
मोबाइलका कारण दम्पतीको हत्या
सांकेतिक तस्बिर

काठमाडौं ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, आहालेका ७४ वर्षीय विष्णुबहादुर आलेमगरले चलाउने भिभो कम्पनीको मोबाइल घरबाटै चोरी भयो। मोबाइल खोज्ने क्रममा गाउँकै १३ वर्षीय र १५ वर्षीय (नाबालक भएकाले दुवैको नाम नखुलाइएको) दुई जनाले चोरेको पत्ता लाग्यो।

मोबाइलधनी मगरले चोरी गर्ने दुई बालकलाई खाजा खान भन्दै केही पैसा दिएर फकाउँदै उक्त मोबाइल फिर्ता लिए। मोबाइल चोर्ने व्यक्ति नाबालक भएको र मोबाइल पनि फिर्ता पाएको हुनाले त्यतिखेर सो घटना त्यत्तिकै सामसुम भयो।

वडाध्यक्ष कमल थापाका अनुसार यो घटना मङ्सिर पहिलो साता भएको थियो। तर मोबाइल चोर्दा पनि कारबाही गर्नुको सट्टा उल्टै पैसा पाएपछि ती बालक झन् हौसिए र दोस्रो पटक पनि सोही मोबाइल चोर्न मङ्सिर २४ गते मगर दम्पतीको घर गए। त्यतिखेर भने उनीहरूले मोबाइलमात्रै चोरेनन्, मोबाइल प्रयोग गर्दै आएका विष्णुबहादुरसहित उनकी श्रीमती ६७ वर्षीय नीरमाया आलेको समेत बीभत्स हत्या गरे। सुन्दा पनि आङ जिरिङ्ग हुने यो घटनामा संलग्न भएको आरोपमा ती बालकलाई काठमाडौँबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा चार दिनपछि पक्राउ गरिएको छ।

ब्युरोका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुरेश खत्रीका अनुसार नागरिकता नबनेका कारण चोरीमा संलग्न नाबालक भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएकाले उनीहरूको नाम गोप्य राखिएको छ। उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ। दुवै बालक स्थानीय स्कुलमा कक्षा ६ र ८ मा पढ्दै गरेका हुन्। गोरखापत्रबाट

प्रकाशित: ३ पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार