
काठमाडौं ।
जिल्लाको व्यास नगरपालिका कार्यालयमा आजदेखि विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ गरिएको छ। नगरपालिका नगरप्रमुख वैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच आफ्नो कर तिरेर उद्घाटन गरे।
सो अवसरमा उनले गण्डकी प्रदेशको समन्वयमा दुई करोड रुपैयाँको लागतमा कर भुक्तानी सेवा सञ्चालनमा ल्याइएको बताए। व्यास नगरपालिका मातहत रहेका १४ वटै वडामा डिजिटल प्रविधिको अभ्यास भइरहेको उनले जानकारी दिए। “चुस्त, दुरुस्त र विश्वसनीय बनाउने विश्वास लिएको छौँ”, उनले भने, “कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने छौँ।”
प्रत्येक वडाका नागरिक बडापत्र राखेर प्रविधिमैत्री बनाउन लागेको उनको भनाइ थियो। विद्युतीय कर भुक्तानीका लागि विद्युत् र इन्टरनेटको पहुँच पुग्न आवश्यक रहेको व्यासका आइटी इञ्जीनियर टीकाराम दाहालले बताए।
पराम्परागत शैलीबाट काम गर्न झन्झटिलो हुनुका साथै ढिलासुस्ती हुने भएकाले बदलिँदो परिस्थितिअनुरूप आधुनिकीकरणलाई अवलम्बन गर्न आवश्यक रहेको उनको भनाइ थियो।
प्रकाशित: १ पुष २०७९, शुक्रबार