
काठमाडौं ।
अबदेखि फौजदारी मुद्दाको अभियोगपत्र अनलाइन माध्यमबाटै हेर्न सकिने भएको छ।
काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको पहलमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयबाट दायर हुने फौजदारी मुद्दाको अभियोगपत्र अनलाइन माध्यममार्फत सार्वजनिक गरिने व्यवस्था मिलाइएको हो ।
एशोसिएशनको अगुवाईमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमा अपलोड गर्ने कार्यको आइतबारबाट शुभारम्भ गरेको हो ।
यससँगै काठमाडौ जिल्लामा चल्ने फैजदारी मुद्दाको अभियोगपत्र सम्बन्धित सरकारी वकिल कार्यालयको वेबसाइटबाट हेर्न सकिने छ। जिल्ला अदालतमा दर्ता भएका फौजदारी मुद्दाहरु कार्यालय समयपछि वेबसाइटमा अपलोड हुने छन्।
कुनै कसुरको अभियुक्त भइसकेपछि आफू विरुद्ध अनुसन्धानको क्रममा जुटाएका प्रमाणहरु केके छन्, म विरुद्ध कुन दफा लगाइएको छ भनी थाहा पाउने अधिकार प्रतिवादीको संवैधानिक अधिकार रहेको छ। संविधानले दिएको यहि अधिकारको पहुँच सरल तथा सहज रुपमा अभियुक्तका वकिल र मुद्दा सम्बन्धी सरोकार राख्ने हरेक सरोकारवालाहरु सम्म पुर्याउने उद्देश्यले अभियोगपत्र अनलाइन मार्फत सार्वजनिक गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए।
अदालतलाई प्रविधिमैत्री, नमुना र जनताको अदालत बनाउनुपर्छ भन्ने अवधारणा अपनाउँदै आएको र अनलाइन मार्फत फौजदारी मुद्दाको अभियोगपत्र जारी हुनु नै अदालत प्रविधि नजिक र जनता माझ पुगेको काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष रामचन्द्र पौडेल (आरसी विमल)ले बताए।
सो अवसरमा एशोसिएसनका अध्यक्ष पौडेल, जिल्ला न्यायाधिवक्ता एवं प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरे, काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनी सहितको उपस्थिति रहेको थियो।
काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले अनलाइन मार्फत अभियोगपत्र सार्वजनिक गर्नुले कानुन व्यवसायी मात्रै नभई, सेवाग्राही, सरोकारवाला सबैले हेर्न सक्ने जनाएको छ।
प्रकाशित: २५ मंसिर २०७९, आईतवार