
काठमाडौं ।
बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को प्रयोगात्मक परीक्षामा ७० अंक प्राप्त गरे पास हुने व्यवस्था तत्काल कार्यान्वयनमा नआउने भएको छ।
बागमती प्रदेशका काम चलाउ मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेको मौखिक निर्देशनमा लाइसेन्सको प्रयोगात्मक परीक्षामा ७० अंक प्राप्त गरे पास हुने व्यवस्था कार्यान्वयनमा आउने नसकेको स्रोतले टेक्नोलोजीखबरलाई जानकारी दिए।
बागमती प्रदेशको श्रम, रोजगार तथ यातायात मन्त्रालयले ७० अंक प्राप्त गर्नेलाई ड्राइभिङ लाइसेन्सको प्रयोगात्मक परीक्षमा पास हुने व्यवस्था मिलाउन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिप (सबै), यातायात व्यवस्था कार्यालय, हेटौंडा, यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनको नाममा मंसिर १४ गते परिपत्र जारी गरेको थियो।
सोही परिपत्र अनुसार बागमती प्रदेशका लाइसेन्स कार्यालयहरुले आइतबारदेखि ७० अंक प्राप्त गर्नेलाई ड्राइभिङ लाइसेन्सको प्रयोगात्मक परीक्षामा पास हुने व्यवस्था कार्यान्वयन गर्न खोजेका थिए।
तर मुख्यमन्त्री पाण्डले गत बिहीबार प्रदेशका लाइसेन्स कार्यालयका प्रमुखहरुलाई बोलाएर तत्काल मन्त्रालयले जारी गरेको परिपत्र अनुसार कार्य नगर्न निर्देशन दिएको स्रोतको भनाईछ।
‘ट्रायल परीक्षमा ७० अंक ल्याए पास हुने व्यवस्था गरिए ड्राइभिङ ट्रेनिङ सेन्टरको व्यवसायमा ठूलो प्रभाव पर्छ, ती स्रोतले भने, ‘व्यवसायीहरुको उक्साहटमा आएर मुख्यमन्त्रीले यो व्यवस्था तत्काल कार्यान्वयनमा नल्याउन निर्देशन दिएका हुन्।’
प्रकाशित: १९ मंसिर २०७९, सोमबार