एक महिनामा १० किलोमिटर अप्टिकल फाइबर बिछ्याइयो

  • Technology Khabar | १६ मंसिर २०७९, शुक्रबार
एक महिनामा १० किलोमिटर अप्टिकल फाइबर बिछ्याइयो

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोषअन्तर्गत सञ्चालित महामार्ग पूर्वाधार निर्माण परियोजनामा कार्तिक महिनाको प्रगति निराशजनक देखिएको छ। प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कार्तिक महिनामा जम्मा १० किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ।
असोज मसान्तसम्म १ हजार ६४६ किलोमिटर अप्टिकल फाइबर

बिछ्याइएकोमा कार्तिक मसान्तमा १ हजार ६५६ किलोमिटरमा मात्र काम सम्पन्न भएको छ। कार्तिक मसान्तसम्म फाइबर बिछ्याउने कार्यको कुल भौतिक प्रगति २५.८ प्रतिशत मात्र छ।

प्राधिकरणले ग्रमिण दूरसञ्चार बिकास कोष परिचालन गरी सञ्चालित मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्गमा ६ हजार ३३१ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनका लागि ३ ओटा प्याकेजमा ठेक्का लगाएको थियो। तीन प्याकेजका लागि प्राधिकरणले ९ अर्ब ८९ करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

३ प्याकेजमध्ये १ र ३ मा अप्टिकल फाइबर बिछ्याउने काम अघि बढ्दा प्याकेज २ मा भने काम हुन सकेको छैन।

प्याकेज २ अन्तर्गत गण्डकी र लुम्बिनी प्रदेशमा फाइबर बिछ्याउने काम शुरु हुन सकेको छैन। यस प्याकेजका लागि युनाइटेड टेलिकमलाई २ वर्ष भित्रमा कार्य सम्पन्न गर्ने गरी सम्झौता गरिएकोमा कम्पनीले सम्झौता बमोजिम कार्यको प्रगति शुन्य रहेको हुँदा आयोजना सम्पन्न हुनेमा प्राधिकरण विश्वस्त नभएकाले सम्झौता म्याद थप नगर्ने निर्णय गरेको छ।

उक्त निर्णय बदर गर्नका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको र सो विषयमा अदालबाट उक्त रिट निवेदनको टुंगो नलागेसम्म अवधि थप नगर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

प्याकेज १ अन्तर्गत प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा २ हजार १७९ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनका लागि नेपाल टेलिकमलाई जिम्मा दिइएको छ। हालसम्म नेपाल टेलिकमले १ हजार ३२६ किलोमिटर आर्थत ६०.८५ प्रतिशत अप्टिकल फाइबर बिछ्याएको छ। गत असोज महिनामा पनि १ हजार ३२६ किलोमिटर अप्टिकल फाइबल बिछ्याइएको थियो। कार्तिक महिनामा प्याकेज १ मा कुनै भौतिक प्रगति हुन सकेको छैन।

यस्तै २७ ओटा डीडब्ल्यूडीएम सिस्टमहरु जडान भई कलस्टर १ को सम्पूर्ण १३ साईटहरुको माइक्रेसन सम्पन्न भई इस्युहरु रिसलुसनको काम भइरहेको छ। कलस्टर २ को १३ मध्ये १२ साईटहरुको कमिसनिङको कार्य सम्पन्न भई कलस्टर २ (घुर्मी बाहेक)को प्रोभिसनल एसेप्टेन टेस्ट (पीएटी) कार्य सम्पन्न भएको छ। ४७ ओटा कोर राउटर इक्यूमेन्टहरुको जडान कार्य सम्पन्न भई फाइनल एसेप्टेन्स सर्टिफिकेसन (एफएसी) जारी भई वारेन्टीको चरणमा रहेको छ।

प्याकेज ३ अन्तर्गत कार्णली र सुदूरपश्चिम प्रदेशमा १ हजार ९९२ किलोमिटर अप्टिकल फाइबर जडान गर्नु पर्नेमा ३३० किलोमिटर जडान भएको छ। यस प्याकेजको जिम्मा पाएको नेपाल दूरसञ्चार कम्पनीले १६.५७ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। यो प्याकेजमा गत असोजको तुलनामा १० किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ।

उच्च क्षमताको डीडब्ल्यूडीएम उपकरण अन्तर्गत २६ मध्येमा २३ स्थानहरुमा जडान सम्पन्न भई कलस्टर १ को १६ साइटहरुको एसेप्टेन्स सर्टिफिकेट (एसी) जारी भएको छ। कलस्टर २ को प्रोभिसनल एसेप्टेन्स सर्टिफिकेट (पीएसी) शुरु भएको छ।

कोर राउटर उपकरण अन्तर्गत ४६ साइटहरुको जडान कार्य सम्पन्न भई प्राइमेरी एसेप्टेन्स टेस्ट (पीएटी)को प्रक्रियामा रहेको छ। साथै माइक्रोवेब ट्रान्समिसन नेटवर्कको फ्याक्ट्री इन्सेप्सनको कार्य सम्पन्न भएको छ। अप्टिकल फाइबर नेटवर्क (यूजी) प्याकेट १ र २ को लागि एलओए जारी भएको र प्याकेज ३ को लागि फ्याक्ट्री इनसेप्सनको प्रक्रियामा छ।

प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...