
काठमाडौं ।
भारतीय रिजर्व बैंक (आरबीआई) ले डिजिटल रुपैयाँको पहिलो पाइलट प्रोजेक्ट सुरु गर्ने घोषणा गरेको छ। यसको आगमनसँगै देशमा डिजिटलाइजेसनको प्रवद्र्धनसँगै अर्थतन्त्र सुदृढ हुने बताईएको छ।
क्लोज ग्रुपका ग्राहकहरू र खुद्रा क्षेत्रका व्यापारीहरूले यसबाट सबैभन्दा बढी लाभान्वित हुनेछन्। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले यस वर्षको बजेट सत्रमा पहिलो पटक डिजिटल रूपी ल्याएकि थिईन्।
गएको अक्टोबर ७ मा, आरबीआईले सीबीडीसी (केन्द्रीय बैंक डिजिटल मुद्रा) को बारे मा एक अवधारणा नोट प्रस्तुत गर्यो। यसमा डिजिटल रुपैयाँ ल्याउने भनिएको थियो । तर, अब आरबीआईले यसको सुरुवात मिति पुष्टि गरेको छ।
भारतीय डिजिटल रुपैयाँको पाइलट प्रोजेक्ट डिसेम्बर १ देखि सुरु हुनेछ। यसलाई थोक कारोबार र सीमापार भुक्तानी गर्न प्रयोग गरिनेछ।
यसका साथै पाइलट प्रोजेक्टमार्फत जनतालाई डिजिटल भुक्तानीबारे सचेत गराइने बताईएको छ। विशेष कुरा मानिसहरूले डिजिटल पैसालाई नगदमा रूपान्तरण गर्न सक्षम हुनेछन्। यद्यपि, प्रक्रियासँग सम्बन्धित जानकारी हाल खुलाईएको छैन।
आरबीआईले आफ्नो डिजिटल रुपैयाँका लागि भारतका ९ प्रमुख बैंकहरूलाई छनोट गरेको छ। यसमा भारतीय स्टेट बैंक (एसबीआई), बैंक अफ बडोदा (बीओबी), युनियन बैंक, एचडीएफसी बैंक, आईसीआईसीआई बैंक, कोटक महिन्द्रा बैंक, यस बैंक, आईडीएफसी फर्स्ट बैंक र एचएसबीसी बैंक समावेश छन्।
डिजिटल रुपैयाँ बाहेक, भारतीय रिजर्व बैंकले दक्ष (DAKSH) अग्रिम निगरानी प्रणाली तयार गरेको छ। यसको मद्दतले, पैसा कारोबार निगरानी गर्न सकिन्छ। आरबीआईले यो विशेष प्रणालीबाट लेनदेन सजिलै ट्र्याक गर्न सकिने बताएको छ। प्रणालीलाई अपग्रेड गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ जस्ता आधुनिक प्रविधिको पनि प्रयोग गरिने भारतीय मिडियाहरुले जनाएका छन्।
प्रकाशित: १४ मंसिर २०७९, बुधबार