पेन्सनपट्टा अब अनलाइनबाटै

  • Technology Khabar | १४ मंसिर २०७९, बुधबार
पेन्सनपट्टा अब अनलाइनबाटै

काठमाडौं ।

अबदेखि निजामती सेवाका अवकाश प्राप्त कर्मचारीको अनलाइनबाटै पेन्सनपट्टा तयार हुने भएको छ। सेवानिवृत्त कर्मचारीलाई पेन्सन लिन सहज बनाउने उद्देश्यले राष्ट्रिय किताबखाना (निजामती)ले मङ्गलबारदेखि ई–पेन्सन प्रणाली कार्यान्वयनमा ल्याएको छ।

किताबखानाले सबै निजामती कर्मचारीको सेवा प्रवेश गरेदेखि अवकाश हुँदासम्मका सबै विवरणलाई अनलाइनमा समावेश गरेको छ।

सोहीअनुरूप अनलाइनबाट पेन्सनपट्टाको काम गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। नयाँ प्रविधिका कारण अवकाश प्राप्त कर्मचारीले १५ मिनेटभित्र पेन्सनपट्टा लिन सक्नेछन् । किताबखानाका महानिर्देशक बाबुराजा श्रेष्ठले पेन्सनपट्टा बनाउनका लागि दुर्गम जिल्लादेखि तीन/चार दिनसम्म काठमाडौँ धाइरहन नपर्ने बताए।

कर्मचारीको सबै विवरण विद्युतीकरण नहुँदा अहिलेसम्म देशभरका सबै निकायमा कार्यरत कर्मचारी सेवाबाट अवकाश हुँदा पेन्सनपट्टालगायतका कागजात निर्माणका लागि समय, श्रम र रकम खर्च गरी काठमाडौँ धाउनुपर्ने बाध्यता रहँदै आएको थियो।

विद्युतीय हस्ताक्षर अहिले सबै कार्यालयमा कार्यान्वयनमा नआएको र सबै कार्यालयमा विद्युतीय हस्ताक्षर कार्यान्वयनमा आएपछि भने घरैमा बसेर पेन्सनपट्टा लिन सकिनेछ। आगामी दिनदेखि कर्मचारी अवकाश हुनुभन्दा छ महिना अगाडि नै सम्बन्धित कर्मचारीलाई अनलाइन माध्यमबाट जानकारी गराइनेछ। गोरखापत्रबाट

प्रकाशित: १४ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार