वर्ल्डलिंक कम्युनिकेशन्सको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी कोसेली

  • Technology Khabar | १२ मंसिर २०७९, सोमबार
वर्ल्डलिंक कम्युनिकेशन्सको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी कोसेली

काठमाडौं ।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) कोसेली प्रदान गरेको छ।

देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा काम गरिरहेको वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी ७ जना ग्राहकलाई टेलिभिजन कोसेली दिएको हो।

१ लाखदेखि ७ औं लाख ग्राहक नम्बर भएका ग्राहकलाई कोसेली प्रदान गरेको वर्ल्डलिंकले जनाएको छ। टेलिभिजन कोसेली पाउनेमा मकवानपुर हेटौंडाका निरज बराइली, झापा बिर्तामोडकी मनिसा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर गठ्ठाघरका भीमबहादुर कुमाल, राष्ट्रबैंक चोक पोखराका रविन थापा र बालाजुका हुमनाथ अघिकारी छन्।

बराइली वर्ल्डलिंकको इन्टरनेट सेवा लिने १ लाख नम्बरका ग्राहक हुन्। सन् २०१७ को मे मा वल्र्डलिंकले १ लाख ग्राहक बनाएको थियो।

यस्तै, बिर्तामोडकी राई वर्ल्डलिंककी २ लाख नम्बरकी ग्राहक हुन्। सन् २०१८ मा वर्ल्डलिंकले २ लाख ग्राहक संख्या पार गरेको थियो।

बुटवलका थापा ३ लाख नम्बरका ग्राहक हुन्। उनी सन् २०१९ मा वर्ल्डलिंकको ग्राहक बनेका थिए। यी वर्ष फेब्रवरीमा वर्ल्डलिंक ३ लाख ग्राहक बनाउन सफल भएको थियो।

सुर्खेतका रोकाया, गठ्ठाघरका कुमाल, पोखरा राष्ट्रबैंक चोकका रविन र बालाजुका अधिकारी क्रमशः ४ लाख, ५ लाख, ६ लाख र ७ लाख नम्बरका ग्राहक हुन्। उनीहरूले सन् २०२० यता वर्ल्डलिंकको ग्राहक बनेका हुन्।

सन् १९९५ बाट सेवा सुरु गरेको वर्ल्डलिंकले २७ वर्षमा गत नोभेम्बर १४ मा ग्राहकको संख्या ७ लाख पुर्याएको हो। सबैभन्दा बढी ग्राहक कोभिड–१९ महामारीपछि थपिएको वर्ल्डलिंकले जनाएको छ। सन् २०१९ को फेब्रुअरीसम्म ३ लाख ग्राहक बनेकोमा सन् २०२२ को नोभेम्बरसम्म आइपुग्दा थप ४ लाख ग्राहक थपिएका छन्।

देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिंकमा ५ हजार नागरिकले रोजगारीको अवसर पाएका छन्। देशका सात ओटै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिंकको इन्टरनेट पहुँच पुगिसकेको छ। बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङ जिल्लामा पनि चाँडै आफ्नो सेवा विस्तार गर्ने वर्ल्डलिंकले जनाएको छ।

देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत हिस्सा वर्ल्डलिंकको छ। साथै देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत निशुल्क वाईफाई सेवा समेत उपलब्ध गराउँदै आइरहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जानकारी अनुसार एउटा घररकार्यालयमा लिइएको इन्टरनेट कनेक्सन औसतमा ४.३ जना प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन्। यसलाई आधार मान्दा देशभरमा नेपालमा वर्ल्डलिंकको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या ३० लाख २४ हजारभन्दा बढी छ।

प्रकाशित: १२ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार