
काठमाडौं ।
ट्विटर ब्लू टिकमा देखिएको प्रतिरुपण (अर्कोको नाममा ट्विट गर्ने) समस्या हल नभएसम्म सःशुल्क भेरिफिकेसन प्रक्रिया होल्ड हुने भएको छ। ट्विटरका नयाँ सीईओ एलन मस्कले प्लेटफर्ममा ‘उच्च आत्मविश्वास’ ट्विटरमा लागू गर्न खोजिएको भेरिफिकेसन सिस्टम होल्ड हुने बताए।
मस्कले सोमबार राती ट्वीट गर्दै भने, ‘प्रतिरुपण रोक्नका लागि उच्च विश्वास नभएसम्म ब्लू भेरिफाइड पुन लन्च हुने छैन।’
नयाँ सिस्टममा व्यक्ति र संगठनहरु बिच भिन्नता देखाउनका लागि विभिन्न कलरको प्रयोग गरिने उनले संकेत गरेको बिजनेसइन्साइडरले उल्लेख गरेको छ।
४४ बिलियन अमेरिकी डलरमा ट्विटर खरिद गरेपछि मस्कले ब्लू टिक भेरिफिकेसन लिनका लागि मासिक ८ अमेरिकी डलर लिने निर्णय गरेका थिए।
केही समय अघि ट्विटरले मासिक शुल्क लिएर ब्लू टिक भेरिफिकेसन पनि उपलब्ध गराएको थियो। ट्विटरको उक्त नयाँ नीतिबाट केही व्यक्तिले चर्चित व्यक्तिको नाममा ब्लू टिक लिएका थिए। यसबाट आम ट्विटर प्रयोगकर्तामा उक्त ट्वीट आधिकारिक व्यक्ति वा संस्थाबाट भएको हो कि भन्ने भ्रम पनि पैदा भएको थियो। जसका कारण ट्विटरको उक्त नीतिको व्यापक विरोध भएको थियो।
मस्कले गत नोभेम्बर ५ देखि सःशुल्क ट्विटर ब्लू टिक वितरण शुरु गरेका थिए। केही चर्चित सेलिब्रेटीको नाममा ब्लू टिक लिएर भ्रम पूर्ण ट्वीट हुन थाले पनि नोभेम्बर ६ मा मस्कले त्यस्ता एकाउन्टलाई बिना कुनै चेतावनी प्रतिबन्ध लगाउने उद्घोष गरेका थिए।
उनको चेतावनीका बाबजुत पनि यस्तो कार्य नरोकिएकाले ट्विटरमा सःशुल्क भेरिफिकेसन केही समयका लागि होल्ड गरिएको थियो।
प्रकाशित: ७ मंसिर २०७९, बुधबार