विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण देखाउने बाटो खुल्यो, अल्पकालिन अन्तरिम आदेश खारेज

  • Technology Khabar | ३० कार्तिक २०७९, बुधबार
विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण देखाउने बाटो खुल्यो, अल्पकालिन अन्तरिम आदेश खारेज

काठमाडौं ।

विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण अतिरिक्त शुल्क लिएर गर्न लागेको भन्दै परेको मुद्दामा यसअघि सर्वोच्च अदालतद्वारा जारी भएको अल्पकालिन अन्तरिम खारेज भएको छ।

यसका साथै अब नेपालमा ‘पे पर भ्यू’ अर्थात ‘अतिरिक्त शुल्क’ लिएर विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण देखाउने बाटो खुलेको हो।

सो आदेशको बारेमा आज सुनुवाई गर्दै सर्वोच्चका न्यायाधिशद्वय प्रकाश कुमार ढुंगाना, डा. मनोजकुमार शर्माको संयुक्त इजलासले सो अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश दिएको हो।

यसअघि अधिवक्ता किशोर पौडेलले दायर गरेको मुद्दामा अल्पकालिन अन्तरिम आदेश भएसँगै विपक्षी मिडिया हब प्राली सो आदेश खारेजीको माग गर्दै भ्याकेटमा गएसँगै आज सो मुद्दाको सुनुवाईमा अल्पकालिन अन्तरिम आदेश निरन्तरता दिन नहुने आदेश दिएको हो। जसमा सर्वोच्च अदालतले विश्वकप हेर्न ‘अतिरिक्त शुल्क’ लिने व्यवस्थालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

सर्वोच्चको अल्पकालीन आदेशविरुद्ध नेपालमा एक मात्र प्रसारण अधिकार लिएको मिडिया हबले सर्वोच्चमा कात्तिक २४ गते भ्याकेट निवेदन लिएर गएको थियो। भ्याकेट निवेदनमा सुनुवाईका लागि शुक्रबार पेसी तोकिएको थियो। पेसी शुक्रबार सुनुवाई हुन सकेन भने भ्याकेटमा आइतबार पेसी तोकिए पनि सुनुवाई हुन सकेको थिएन्।

अदालतको नयाँ आदेशसँगै अब एनआईटिभी स्ट्रीम्ज प्रा.लि. र भायानेट कम्युनिकेशन्स प्रा.लि.ले आफ्ना इन्टरनेट सेवा प्रदायकहरु तथा आईपीटीभी सेवा प्रदायकहरुलाई आफ्नो च्यानलमार्फत सशुल्क वर्ल्डकप फुटबल देखाउन पाउने भएका छन्।

प्रकाशित: ३० कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार