
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडका इन्टरनेट सेवा जडान गर्ने घरधुरी सङ्ख्या ७ लाख नाघेको छ।
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको जानकारी दिएको हो।
२०५२ साल भदौ ३० गते स्थापना भएको वर्ल्डलिङ्कले नेपालभर आफ्नो सेवा पुर्याएको छ।
यसअघि २०७४ जेठमा एक लाख ग्राहक सङ्ख्या पुरा गरेको वर्ल्डलिङ्कले त्यसको साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको हो। वर्ल्डलिङ्कमा हाल पाँच हजार भन्दा बढी कर्मचारी कार्यरत छन्।
देशका सातै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगेको छ। दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्रि वाईफाई समेत उपलब्ध गराइरहेको छ।
वर्ल्डलिङ्क विदेशी लगानी भएको एक मात्र स्वदेशी इन्टरनेट सेवा प्रदायकको रुपमा समेत चिनिँदै आएको छ।
प्रकाशित: ३० कार्तिक २०७९, बुधबार