
काठमाडौं ।
पछिल्ला केही महिनामा भारतका ठूला सफ्टवेयर कम्पनीहरूले आफ्ना कर्मचारीलाई कार्यालयमा फर्कन भनेका छन्। यसैक्रममा भारतीय सफ्टवेयर कम्पनी इन्फोसिसले आफ्ना कर्मचारीहरूलाई चरणबद्ध रूपमा कार्यालयमा फिर्ता बोलाउने योजना बनाएको छ।
कम्पनीले कर्मचारीलाई पठाएको इमेलमा यो जानकारी दिएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।
इन्फोसिसका कार्यकारी उपाध्यक्ष र मानव संसाधन विभागका समूह प्रमुख, कृष्णमूर्ति शंकरले एक ईमेलमा कम्पनीले कर्मचारीहरूलाई लचिलोपनसहित अनुमति दिनेछ। यो योजनाको पहिलो चरणमा कर्मचारीले आफ्नो सुविधाअनुसार हप्तामा दुई दिन कार्यालयमा आउनु पर्नेछ।
दोस्रो चरणमा कर्मचारीको सरुवा वा आफ्नो मनपर्ने शाखामा स्थानान्तरण गर्न दिइनेछ। इन्फोसिसका ५४ देशमा २४७ कार्यालय छन्। तेस्रो चरणमा कम्पनीले अघिल्ला दुई चरणको फिडब्याक लिएर हाइब्रिड कार्य नीति तयार गर्नेछ।
यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सलिल पारेखले इन्फोसिसले सबै कामदारलाई कार्यालयमा फर्काउने योजना बनाएको बताएका थिए । उनले भने, “धेरै संख्यामा कर्मचारी कार्यालयमा फर्किनका लागि कर्मचारीलाई आवश्यक सहयोग गर्नेछौं। साथै फ्लेक्सिबिलिटी पनि दिइनेछ।”
हालै, भारतको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसले पनि आफ्ना कर्मचारीहरूलाई हप्ताको कम्तिमा तीन दिन अफिसबाट काम गर्न भनेको छ।
प्रकाशित: २९ कार्तिक २०७९, मंगलवार