नेपालमा तारबाट इन्टरनेट चलाउने २३ लाख पुगे

  • Technology Khabar | २८ कार्तिक २०७९, सोमबार
नेपालमा तारबाट इन्टरनेट चलाउने २३ लाख पुगे
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

नेपालमा तारबाट इन्टरनेट चलाउनेको संख्या बढ्दो क्रममा रहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७९ साउन मसान्तको एमआईएस रिपोर्ट अनुसार इन्टरनेट सेवा प्रदायक मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या २२ लाख ९९ हजार ५४ पुगेको छ।

२०७८ साउन मसान्तसम्म १७ लाख ११ हजार ४४५ जनाले इन्टरनेट सेवा प्रदायकबाट इन्टरनेट चलाउने गरेको प्राधिकरणको रिपोर्टमा देखिन्छ।

एक वर्षको अवधिमा तारबाट इन्टरनेट चलाउनेको संख्या ५ लाख ८७ हजार ६०९ ले अर्थात ३४.३३ प्रतिशतले बढेको छ।

मोबाइल डाटाको तुलनामा इन्टरनेट सेवा प्रदायक मार्फत इन्टरनेट प्रयोग गर्दा तुलनात्मक रुपमा ग्राहकलाई सस्तो पर्ने गर्छ। मासिक वा वार्षिक शुल्क भुक्तानी गरेपछि परिवारका सबै सदस्यले इन्टरनेट प्रयोग गर्न पाउँछन्।

कोभिड १९ को कारण घरबाट कार्यालयको काम तथा अनलाइन शिक्षा लिनु पर्ने अवस्था सिर्जना भएकाले पनि तारबाट इन्टरनेट चलाउनेको संख्या बढेको देखिन्छ।

प्राधिकरणका अनुसार एउटा फिक्स्ड कनेक्सन मार्फत ४.३२ जनाले इन्टरनेट प्रयोग गर्छन्।

नेपालमा सबैभन्दा धेरैले वर्ल्डलिंक कम्युनिकेशन मार्फत इन्टरनेट प्रयोग गर्ने गर्छन्। गत साउनसम्म वर्ल्डलिंकको इन्टरनेट प्रयोगकर्ता ६ लाख ७१ हजार ८८३ जना रहेका छन्। गत वर्ष वर्ल्र्डलिंकको प्रयोगकर्ता ५ लाख ३० हजार ७७८ जना थिए। एक वर्षमा वर्ल्डलिंकको ग्राहक १ लाख ४१ हजार ६० ले थपिएका छन्।

ग्राहक संख्याको आधारमा दोस्रो स्थानमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी रहेको छ। साउनसम्म नेपाल दूरसञ्चार कम्पनीको ग्राहक २ लाख ९७ हजार ९७९ जना छन्। गत वर्षको साउनमा नेपाल दूरसञ्चार कम्पनीको ग्राहक २ लाख ९२ हजार २३३ जना थिए। एक वर्षको अवधिमा नेपाल दूरसञ्चार कम्पनीको ग्राहक ५ हजार ७४६ जना मात्र थपिएका छन्।

२ लाख ३९ हजार १५९ ग्राहक सहित सुबिसु केबल लिमिटेड तेस्रो स्थानमा रहेको छ। एक वर्षको अवधिमा सुबिसुका ग्राहक ११ हजार २४३ ले थपिएको छ। गत वर्षको साउनमा सुबिसुका इन्टरनेट प्रयोगकर्ता २ लाख २७ हजार ९४६ जना थिए।

प्रकाशित: २८ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...