
काठमाडौं ।
कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स – विट्सा (World Information Technology and Services Alliance – WITSA) को सन् २०२२-२४ कार्यकालको निम्ति कोषाध्यक्षमा पुनः निर्वाचित भएका छन्।
भाद्र अन्तिममा सम्पन्न वार्षिक साधारणसभाबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएका चौरासिया यहि कार्तिक २२ गते बसेको कार्यसमितिको बैठकबाट कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन्। यसअघि उनी सन् २०१८-२० कार्यकालको निम्ति क्यान महासंघबाट प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टर पदमा निर्वाचित भएका थिए भने सन् २०२० – २२ कार्यकालमा कोषाध्यक्ष थिए।
चौरासियाले सन् २०१७ देखि २०१९ कार्यकालकालका निम्ति क्यान महासंघमा अध्यक्षको रुपमा नेतृत्व गरेका थिए।
द नेशनल टेक एसोसियशन अफ मलेशिया (पिकोम)का अध्यक्ष डा. शिन सीहको अध्यक्षतामा निर्वाचित २० सदस्यीय समितिमा ५ महादेशवाट प्रतिनिधित्व गर्दै मलेसिया, ब्राजिल, स्पेन, वर्मुडा, दक्षिण अफ्रिका, कोस्टारिका, जोर्डन, हंगकंग, बहराईन, नाइजेरिया, नेपाल, उत्तरी म्यासेडोनिया, क्यानाडा, अर्जेन्टिना, बङ्गलादेश, जापान, ताईवान, ईजिप्ट, रोमानिया र अर्मेनियाका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएका छन्।
विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विट्सा, विश्वको सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ।
विट्सामा उनको प्रतिनिधित्वले बदलिंदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुंच एवं सुचना तथा संचार प्रविधि – देश विकाशको नयाँ रणनीतिक स्तम्भको रूपमा स्थापित गर्ने हाम्रो प्रयासमा मदत पुग्नेक्यान महासंघको ठहर छ।
प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार