कृषि औजार कारखाना चलाउने तयारीमा जुट्यो आविष्कार केन्द्र

  • Technology Khabar | १७ कार्तिक २०७९, बिहीबार
कृषि औजार कारखाना चलाउने तयारीमा जुट्यो आविष्कार केन्द्र

काठमाडौं ।

वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्न मंगलबारदेखि राष्ट्रिय आविष्कार केन्द्र सरसफाई तथा मेसिनरी चेकजाँचमा जुटेको छ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गोरखापत्रसँग कुरागर्दै मंगलबारदेखि वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्ने लक्ष्यकासाथ सरसफाई तथा मेसिनरी चेकजाँच सुरु गरेको जानकारी दिए।

सरकारले कारखाना सञ्चालनमा आएदेखि १० वर्षका लागि आविष्कार केन्द्रलाई सञ्चालनको जिम्मा दिएको छ। आविष्कार केन्द्रका १५ जनाको टोली सरसफाई तथा मेसिनरी चेकजाँचमा लागेको हो।

अध्यक्ष पुनले कृषि औजार कारखाना करिब ३० वर्षदेखि बन्द रहेकाले सुरुमा सरसफाई गर्ने काम थालनी भएको बताए। केही स्वयम्सेवक, केही विद्यार्थी मिलेर मंगलबार सरसफाई तथा कारखानाभित्रका औजार, उपकरणको व्यवस्थापन गर्ने कार्य गरेका हुन्।

कारखाना भित्र रहेका मेसिनमध्ये मंगलबार र बुधबार आठ वटा लेथ मेसिन चेकजाँच गरिएको छ। जेकजाँच गरिएकामध्ये ७ वटा मेसिन मर्मत सम्भार गरेर चलाउन सकिने उनले बताए। ‘सबै ५०–६० वर्ष पुराना मेनुअल (मानिसले हातले चलाउने) पद्दतिका मेसिन रहेछन्। तिनीहरुलाई स्वचालित अर्थात् अटोमेटिक बनाउनुपर्ने हुन्छ, कारखाना पूर्णरुपमा सञ्चालन गर्न त समय लाग्ला तर, हामी काममा जुटी सकेका छौं। जतिसक्दो छिटो सञ्चालनमा ल्याउनेछौं’, उनले भने।

कारखाना क्षेत्र होचो भएकाले भुइँ केही अग्लो पारेर ढलान गरिनु पर्ने, सरसफाइ, रङ रोगन गरिनुपर्ने त्यहा रहेका मेसिन तथा औजार मर्मत गर्नुपर्ने, पाँच बिगाह क्षेत्रफलमा उद्योग र पाँच बिगाह क्षेत्रफलमा आवास क्षेत्र रहेकाले जग्गा पर्याप्त भए पनि सरकारले १० देखि १५ करोड रुपियाँ सरसफाई तथा थप उपकरण खरिदका लागि सहयोग गर्नुपर्ने उनको भनाइ छ।

केन्द्रसँग भएका जेनरेटरबाट जाँच गर्न नसकिने केही मेसिन परीक्षणका लागि विद्युत लाइन जडान गर्नुपर्ने उनको भनाइ छ। जाँच गरेपछि मात्र कति मेसिन सञ्चालन गर्न सकिन्छ। कुन–कुन मेसिन चल्छन् भनेर थाहा हुने राष्ट्रिय आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर सुवास पालले जानकारी दिए।

यो कारखाना पूर्णरुपमा सञ्चालनमा ल्याउँदा पाँच सयजनाभन्दा बढी कर्मचारी आवश्यक गर्ने र उद्योगलाई नाफामा सञ्चालन गर्न कम्ती दुई सिफ्टमा चलाउनु पुनको भनाइ छ। वीरगञ्जको परिवर्तन नेपाल नामक संस्थाका केही युवाले मंगलबार र बुधबार सरसफाई कार्यमा सहयोग गरेकाले ती स्वयम्सेवक युवालाई केन्द्रका प्रमुख पुनले धन्यवाद दिए। गोरखापत्रबाट

प्रकाशित: १७ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार