तिहारभर मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने

  • Technology Khabar | ७ कार्तिक २०७९, सोमबार
तिहारभर मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने

काठमाडौं ।

कुनै पनि मोबाइल बैंकिङ्गबाट कनेक्टआइपिएस मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ। तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रबर्द्धन गर्नका निम्ति सो अफर कात्तिक ७ गते देखि १३ गतेसम्म लागु हुने बताइएको छ।

चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्नका निम्ति एनसीएचएल तथा बैंक वित्तीय संस्थाको समन्वयमा सो अफर लागू गरिएको हो।

फण्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–इन गरी, फण्ड ट्रान्सफर वा सेन्ड मनिमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्टआइपिएसलाई छनोट गर्नुपर्ने हुन्छ।

कनेक्टआइपिएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्टआइपिएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन।

हाल मोबाइल बैकिङ्गमा रहेको कनेक्टआइपिएस मार्फत प्रति दिन प्रति कारोबार २ लाखसम्मको फण्ड ट्रान्सफर गर्न सकिने जनाइएको छ।

यस निःशुल्क फण्ड ट्रान्स्फरको प्रावधानले फण्ड ट्रान्स्फर तथा विभिन्न भुक्तानीका लागि मोबाईल बैंकिङ्गको बढ्दो प्रयोगलाई थप प्रोत्साहन गर्नुका साथै चाड पर्वको समयमा नगदको प्रयोग पनि घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रकाशित: ७ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...