मतदाताले मागे गाउँमा मोबाइल टावर

  • Technology Khabar | ६ कार्तिक २०७९, आईतवार
मतदाताले मागे गाउँमा मोबाइल टावर
ढोरपाटन क्षेत्रमा ३२ सय ५० मिटर उचाईमा नेपाल टेलिकमले स्थापना गरेको मोबाइल टावर। फाइल तस्बिर।

काठमाडौं ।

दैलेखको गुराँस गाउँपालिकामा मोबाइल फोनको नेटवर्कसम्म भरपर्दो छैन। दूरीका हिसाबले प्रदेश राजधानीसँगै जोडिएको नजिकको पालिका हो।

त्यस क्षेत्रमा नेपाल टेलिकमको टावरले राम्रो काम गर्दैन। सञ्चार सम्पर्कका लागि नेटवर्क खोज्दै अग्ला डाँडा खोज्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ। फोन सम्पर्क नहुने समस्याले स–साना कामका लागि पनि भौतिक रूपमै उपस्थित हुनुपर्छ। यतिसम्म कि पालिकाको केन्द्र रहेको रानीमत्तामा नै फोनको नेटवर्क छैन।

गुराँस गाउँपालिका–३ की सीता विक गाउँमा कोही बिरामी पर्दा एम्बुलेन्स बोलाउनसमेत समस्या हुने गरेको बताउँछिन। उनको वडामा मोबाइल नेटवर्कले राम्ररी काम गर्दैन । उनी भन्छिन्, “हामीलाई सञ्चार सम्पर्कका साह्रै दुःख छ । स्वास्थ्य संस्था र प्रहरी चौकी नजिक छैनन् । केही स्वास्थ्य समस्या भइहाले हत्तपत्त खबर गर्नै कठिन हुन्छ।”

यो पालिकामा अहिले सूचनाको भरपर्दो एक मात्र माध्यम भनेकै रेडियो बनेको छ। दैलेखको क्षेत्र नं. २ मा पर्ने दुल्लू नगरपालिकालाई २०७४ को चुनावमा स्थानीय तहदेखि प्रतिनिधि सभाका उम्मेदवारसम्मले प्रविधियुक्त नगर (स्मार्ट सिटी) बनाउने प्रतिबद्धता जनाएका थिए। त्यसका लागि इन्टरनेटको पहुँच विस्तार गर्ने उनीहरूका वाचा थिए।

सबैतिर विद्युत्को समेत पहुँच नभएको उक्त क्षेत्रमा यो योजना आश्वासनमै सीमित भयो । सडक सञ्जालसमेत भरपर्दो नहुँदा यहाँका नागरिकले निकै सास्ती खेप्दै आएका छन् ।

यसपालि पनि यस्तै एजेन्डा लिएर उम्मेदवार मतदाताका घरदैलोमा पुगेका छन् ।पश्चिम सुर्खेतका तीनवटै पालिकामा सञ्चार सम्पर्क गर्न कठिनाइ छ। यी पालिकाका धेरैजसो ठाउँमा मोबाइल फोनले राम्रोसँग काम गर्दैन ।

पञ्चपुरी नगरपालिका–२ का मनबहादुर खत्रीले पश्चिम सुर्खेतका बासिन्दाको सबैभन्दा ठूलो समस्या सञ्चार भएको बताउए। त्यहाँ नेपाल टेलिकमको टावरले सबैतिर टिप्दैन । घाम लागेन भने मोबाइलको टावर नै नहुने समस्या छ।

मङ्सिर ४ मा हुने संसदीय निर्वाचनका लागि यतिबेला घरदैलो गरिरहेका उम्मेदवारले पनि उही आश्वासन बाँडिरहेका छन् । गएका पाँच वर्षमा पश्चिम कुनै पनि भूगोलमा सञ्चार क्षेत्रको सुधारका लागि केही पनि काम हुन नसकेको खत्रीले बताए । पश्चिम सुर्खेतमा विकासका अन्य पूर्वाधारको पनि बिजोग छ। धेरै नागरिक अहिले पनि सडक पूर्वाधार र विद्युत्को समेत पहुँचमा छैनन् । निर्वाचनका बेला सधैँ एजेन्डा बन्ने यी विषय निर्वाचित भएपछि नेताले बिर्सिन्छन् ।

पञ्चपुरी नगरपालिका–३ की डिला चपाईंले अरू सुविधा त धेरै टाढाको कुरा भइहाल्यो, आफूहरूले आधारभूत सेवासमेत पाउन नसकेको गुनासो गरिन। उनका अनुसार गत असोजमा पञ्चपुरीमा झन्डै एक महिना नै मोबाइलको नेटवर्कले काम गरेन । खानेपानी, बिजुली बत्ती, सडक र टेलिफोनको समस्या ज्युँ का त्युँ छ।

अहिले फेरि त्यही आश्वासन बोकेर उम्मेदवारले मतदाता फकाउँदै छन् ।२०७४ मा भएको तीन तहकै निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले सूचना प्रविधिमैत्री बनाउने, चोक–चोक र सार्वजनिक स्थलमा इन्टरनेट सेवा (फ्री वाइफाई)को प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका थिए। तर, उक्त प्रतिबद्धताअनुसार कुनै पनि क्षेत्रमा काम भएको छैन। अहिले उनै पुराना एजेन्डा लिएर पुनः उम्मेदवारहरू भोट माग्न थालेका छन् ।

दैलेख क्षेत्र नं. १ प्रदेश सभा (क)मा नेकपा (एमाले)का उम्मेदवार धर्मराज रेग्मी आफ्नो निर्वाचन क्षेत्र रहेका तीनओटै पालिकामा टेलिफोन सेवा प्रभावकारी बन्न नसकेको स्वीकार गर्छन्। उनी सोही क्षेत्रबाट अघिल्लो प्रदेश सभामा निर्वाचित भएका थिए। गुराँससहित तीनवटा पालिका उनको निर्वाचन क्षेत्रमा पर्छन् । त्यतिबेला उनले पनि टेलिफोनका टावर निर्माण, विद्युतीकरण, इन्टरनेटको पहुँच विस्तार र सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउने वाचा गरेका थिए। तीमध्ये केही कामहरू भएको र बाँकी योजनालाई पूरा गर्न आफूले यसपालि फेरि उम्मेदवारी दिएको रेग्मीको दाबी छ ।

सुर्खेत क्षेत्र नं. २ प्रदेश सभा (ख)मा नेकपा (एकीकृत समाजवादी)बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका मोहनसिंह बडुवालको चुनावी एजेन्डा पनि सडकको स्तरोन्नति र सञ्चारको पहुँच विस्तारमा केन्द्रित छन्। पहिलो पटक संसदीय निर्वाचनको उम्मेदवार बनेका उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई सूचना प्रविधिमा जोड्न इन्टरनेट सेवाको विस्तारमा पनि प्राथमिकता दिइने बताए। गोरखापत्रबाट

प्रकाशित: ६ कार्तिक २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार