चुनावी प्रचार प्रसारमा सामाजिक सञ्जाल उपयोगी

  • Technology Khabar | ३ कार्तिक २०७९, बिहीबार
चुनावी प्रचार प्रसारमा सामाजिक सञ्जाल उपयोगी
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका उम्मेदवारले सामाजिक सञ्जाललाई चुनावी प्रचार प्रसारको मुख्य साधनका रूपमा प्रयोग गर्न थालेका छन् ।

पाल्पामा प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारले आफ्ना एजेन्डा तथा विगतमा गरेका काम र दैनिक कार्यक्रमको प्रचार सामाजिक सञ्जाल फेसबुकबाट गर्न थालेका छन्।

राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रचार साधनका रूपमा फेसबुकलाई आधार बनाएको मतदाताको भनाइ छ । पछिल्लो समय अधिकांश मतदाता सामाजिक सञ्जाल फेसबुक, ट्विटर जस्ता माध्यममा जोडिएकाले उम्मेदवारहरूले प्रचार गर्न सामाजिक सञ्जाललाई सहज रूपमा लिने गरेका छन् ।

फेसबुकका माध्यमबाट सत्ता गठबन्धन दलको एजेन्डा तथा दैनिक गतिविधि प्रचार गर्न सहज भएको नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पाल्पा प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मे दवार सोमप्रसाद पाण्डेयले बताए। “मेरो चुनावी गतिविधि पनि फेसबुक पेजबाटै सार्वजनिक गर्ने गरेको छु”, उनले भने, “यसबाट सहज रूपमा सबै मतदातासामु मेरो विचार पुग्ने विस्वास छ ।”

पाण्डेयले २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि गरेको मुख्य काम सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो तथा अडियो बनाएर सार्वजनिक गरेको बताए ।

उनले मात्र होइन, उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुर गैरेले समेत आफ्ना विचार र एजेन्डा समेटेका सामग्री फेसबुक पेजमार्फत सार्वजनिक गरिरहेका छन् ।

पछिल्लो समय धेरै मतदाता मोबाइलमार्फत सामाजिक सञ्जालमा जोडिएकाले फेसबुकबाट आफ्नो एजेन्डा मतदातासम्म पुग्ने विश्वासले दैनिक एक/दुई पटक सामाजिक सञ्जालमा अपडेट गर्ने गरेको उनी बताउँछन्। उम्मेदवार गैरेले विगतदेखि नै आफ्ना विचार राख्न बनाएको व्यक्तिगत पेजमार्फत चुनावी गतिविधि सार्वजनिक गरि रहेका छन भने मतदातासँगको छलफल तथा भेटघाट लाइभसमेत गरि रहेका छन् ।

पाल्पा क्षेत्र नं. १ बाट उम्मेदवार बनेका एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले समेत भिडियो, तस्बिर तथा टेक्स्ट राखेर आफ्नो पक्षमा प्रचार गरि रहेका छन्। गठबन्धनका तर्फबाट क्षेत्र नं. १ मा उम्मेदवार बनेका नेपाली कांग्रेस पाल्पाका उपसभापति ज्ञानबहादुर गाहाले भने कम मात्रामा सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन्। यद्यपि उनका सहयोगीबाट समेत फेसबुकमार्फत विचार तथा एजेन्डा सार्वजनिक गर्ने काम भइरहेको कांग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरेले जानकारी दिए।

दलका उम्मेदवारले मात्रै होइन सामाजिक सञ्जाल फेसबुकको प्रयोगबाट सबैभन्दा धेरै प्रचार स्वतन्त्र उम्मेदवारहरू गरिरहेका छन्। गोरखापत्रबाट

प्रकाशित: ३ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...