
काठमाडौं ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने कार्य जटिल भएकाले यसमा आयोग एक्लैको प्रयास सार्थक नहुने बताएका छन्।
फेसबुकको मातृसंस्था मेटाद्वारा मंगलबार आयोजित राष्ट्रिय निर्वाचन स्वच्छतासम्बन्धी सम्मेलनमा उनले निर्वाचनका समयमा हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमनका लागि निर्वाचन आचारसंहितामा राखिएका प्रावधान, विभिन्न लोकतान्त्रिक देशहरूका असल अभ्यास र अध्ययन अनुसन्धानमा आधारित भएको स्पष्ट गरे।
“निर्वाचनको समयमा सामाजिक सञ्जालमा मित्थ्या सूचना, दुस्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति बढी चुनौतीपूर्ण हुन सक्ने हामीले महसुस गरेका छौं। यो चुनाैती सामना गर्न हामीले यी कुराहरूको दैनिक अध्ययन, नियमन गरिरहेका छौं,’ प्रमुख आयुक्त थपलियाले भने।
उनले सामाजिक सञ्जालको व्यापक विस्तारले नेपालीको सूचनाको प्रयोग, उपभोगसम्बन्धी बानीमा व्यापक परिवर्तन आएको भन्दै लोकतन्त्र, निर्वाचन र मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति सँगसँगै जान नसक्ने उल्लेख गरे।
यसका साथै सामाजिक सञ्जाललाई आयोगले नियन्त्रण नगर्ने स्पष्ट पारे।
उनले आयोगले सञ्चारमाध्यमको सहकार्यलाई उच्च प्राथमिकतामा राखेको र नागरिक समाजका सङ्घ संस्थासँगको सहकार्यलाई पनि आयोगले उत्तिकै महत्व दिएको बताए।
मेटाको टोली हाल नेपालमा आएको छ भने आयोगका कर्मचारीहरुलाई तालिम दिईरहेको छ।
प्रकाशित: २ कार्तिक २०७९, बुधबार