
काठमाडौं ।
वर्डप्रेस नेपालले ‘वर्डक्याम्प नेपाल २०२२’ आयोजना गर्ने भएको छ। वर्ड प्रेस नेपालले चितवनको भरतपुरमा आगामी कार्तिक १९ र २० गते वर्ड प्रेस क्याम्प आयोजना गर्न लागेको हो।
नेपालमा आयोजित वर्डप्रेस सम्बन्धी यो सबैभन्दा ठूलो कार्यक्रमको रूपमा हुने जानकारी दिइएको छ।
वर्डक्याम्पमा वर्डप्रेस डेभलपर्स, प्रयोगकर्ता र यसप्रति चासो राख्ने पाँचसय भन्दा बढीले हालसम्म सहभागिताका लागि नाम दर्ता गराइसकेको डब्लुपी नेपालका अध्यक्ष सुवास खड्काले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। उनका अनुसार क्याम्पमा इभेन्ट डे र कन्ट्रिब्युशन डे गरी दुई भागमा विभाजन गरेर कार्यक्रम हुने उल्लेख गरिएको छ।
‘वर्डप्रेस प्रयोगकर्ता र डेभलपर तथा यसका पारखीहरूलाई एकै ठाउँमा अनुभव आदान प्रदान गर्ने र यस सम्बन्धी सञ्जाल निर्माण गरी अवसरहरूको सदुपयोग गर्न प्लेटफर्म निर्माण गर्ने यस क्याम्पको मुख्य उद्देश्य रहेको छ,’ अध्यक्ष खड्काले भने।
सहभागिताको लागि हालसम्म ५ सय भन्दा बढीले नाम दर्ता गराइसकेका छन्। क्याम्पमा २५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुले प्रस्तुति दिने, जनसम्पर्क विस्तार र अवसरहरूको आदानप्रदान, वर्डप्रेस कार्यशाला, वर्डप्रेसको विकासका लागि योगदान दिने विज्ञहरूसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने बताइएको छ।
वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना गर्दै आइरहेको छ । वर्डक्याम्प वर्डप्रेससम्बन्धी विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्वका ६५ देशका ३७९ शहरहरूमा एक हजार एक सय चौबीस वर्डक्याम्पहरू सम्पन्न भइसकेका छन् । नेपालमा पनि हालसम्म देशको राजधानी काठमाडौं, पोखरा, भरतपुर, विराटनगर र बुटवल गरी १४ वटा वर्डक्याम्प सफलतापूर्वक सम्पन्न भइसकेको वर्डक्याम्प नेपाल २०२२ का मिडिया संयोजक प्रितम बहादुर सेनले बताए।
प्रकाशित: ३० आश्विन २०७९, आईतवार