
काठमाडौं ।
सरकारले महँगा स्मार्टफोन आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आज (शुक्रबार) बसेको बैठकले ३०० डलर माथिका मोबाइल फोन आयात मार्थिको प्रतिबन्ध मंसिर मसान्तसम्म कायम राख्ने निर्णय गरेको हो।
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा स्मार्टफोन माथिको प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउन मन्त्रिपरिषद्मा सिफारिस गरेको हो।
मन्त्रालयको उक्त सिफिरिसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो।
सरकारले विदेशी मुद्राको सञ्चिती घट्दै गएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो।
गत भदौंमा ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गरिए पनि गाडी, मदिरा, १५० सीसी क्षमता भन्दा माथिका मोटरसाइकल र ३०० अमेरिकी डलरभन्दा महँगो मोबाइलको आयात भने यथावत राखेको थियो।
यी वस्तुको आयात माथिको प्रतिबन्ध आज शुक्रबार असोज २८ गतेसम्म रहेको थियो। अब यी ४ वस्तु मंसिर मसान्तसम्म आयात गर्न पाइने छैन।
प्रकाशित: २८ आश्विन २०७९, शुक्रबार