
काठमाडौं ।
सन् २०२२ मा ५.३ अर्ब ओटा मोबाइल फोन बेकार हुनेछन्। विज्ञहरूका अनुसार हाल विश्वभर प्रयोगमा रहेका १६ अर्ब मोबाइलमध्ये यो वर्ष करिब ५.३ अर्ब मोबाइल फोन प्रयोगविहीन हुनेछन्।
एक रिपोर्टकाअनुसार यी फोहोर सेलफोनहरूबाट ठूलो मात्रामा वातावरणीय रूपमा हानिकारक सामग्रीहरू निस्कन्छन्, जसलाई रिसाइकल गर्नु निकै महत्त्वपूर्ण छ।
विज्ञहरूका अनुसार यी मोबाइल फोनलाई एकअर्कामाथि राखिएमा ५० हजार किलोमिटर अग्लो टावर खडा हुन सक्छ, जसको उचाइ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनभन्दा १०० गुणा बढी हुनेछ।
धेरै बहुमूल्य सामग्रीहरू पाइन्छन् सेलफोनमा
डब्लुईईई (WEEE) अनुसन्धान एजेन्सीले सुन, चाँदी, तामा, प्यालेडियम लगायत धेरै मूल्यवान धातुहरू यी फोहोर मोबाइल फोनहरूबाट निस्कने बताएको छ, जसलाई पुन: प्रयोग गर्न सकिन्छ। यी सबै बेकार उपकरणहरू डम्प गर्दा वातावरणमा ठूलो क्षति हुन सक्छ।
रिसर्च फोरमका महानिर्देशक पास्कल लेरोयले प्रयोग हुने इलेक्ट्रोनिक्स उत्पादनमध्ये स्मार्टफोन हाम्रा लागि सबैभन्दा बढी चिन्ताको विषय भएको बताए। यदि हामीले यी फोहोर मोबाइल फोनहरू पुन: प्रयोग गर्दैनौं भने, ती दूर्लभ सामग्रीहरू चीन वा कंगो जस्ता देशहरूमा थप उत्खनन गर्नुपर्नेछ।
हरेक वर्ष ४४.८ मिलियन टन इलेक्ट्रोनिक फोहोर उत्पादन
सन् २०२० ग्लोबल ई-वेस्ट मनिटरकाअनुसार रिसाइकल नगरिएका मोबाइल फोनहरूबाट हरेक वर्ष ४४.४८ मिलियन टन इलेक्ट्रोनिक फोहोर उत्पादन हुन्छ। जुन २०२२ देखि सेप्टेम्बर २०२२ सम्म ६ युरोपेली देशहरूमा गरिएको सर्वेक्षणअनुसार निष्क्रिय अवस्थामा रहेका ५ अर्ब फोनमध्ये धेरै फोन फाल्नुको सट्टा घरमै भण्डारण गरिएको थियो, जुन चिन्ताको विषय हो।
घर वा व्यवसायिक प्रयोगको लागि मोबाइल फोन मर्मत वा पुन: प्रयोग गर्नुको सट्टा, मानिसहरूले यसलाई घर वा कार्यालयको कुनै दराज, बक्स वा ग्यारेजमा बिर्सन्छन्। प्रतिवेदनका अनुसार औसत युरोपेली घरपरिवारमा ५ किलोग्रामसम्म इलेक्ट्रोनिक फोहोर जम्मा हुने गरेको छ।
यस कारणहरूले घरमै इलेक्ट्रोनिक उपकरण भण्डारण
सर्वेक्षणका अनुसार ८ हजार ७ सय ७५ जनामध्ये ४६ प्रतिशतले यी मोबाइल फोन र इलेक्ट्रोनिक फोहोरलाई भविष्यमा प्रयोगका लागि भण्डारण गरेका छन् । केवल १५ प्रतिशत प्रयोगकर्ताहरूले आफ्नो पुरानो वा बेकार ग्याजेटहरू बेच्छन् वा डम्प गर्छन्।
एकै समयमा, १३ प्रतिशत प्रयोगकर्ताहरूले भावनात्मक संलग्नताको कारण आफ्नो पुरानो ग्याजेटहरू आफूसँगै राख्छन्। युरोपमा हरेक वर्ष ५० देखि ५५ प्रतिशत विद्युतीय फोहोर (इलेक्ट्रोनिक फोहोर) या त फालिन्छ वा पुन: प्रयोग गरिन्छ।
प्रकाशित: २८ आश्विन २०७९, शुक्रबार