सामाजिक सञ्जालमा सरकारी कर्मचारीहरुले उम्मेदवारका पक्ष/विपक्षमा प्रचारप्रसार गर्न नपाइने

  • Technology Khabar | २५ आश्विन २०७९, मंगलवार
सामाजिक सञ्जालमा सरकारी कर्मचारीहरुले उम्मेदवारका पक्ष/विपक्षमा प्रचारप्रसार गर्न नपाइने
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

सरकारी कर्मचारी तथा अन्तर्गतका निकाय र संस्थाका कर्मचारी तथा शिक्षकहरुले सामाजिक सञ्जालमा राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसार नगर्न निर्वाचन आयोगले चेतावनी दिएको छ।

आयोगले यहि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ प्रतिकुल हुनेगरी सरकारी कर्मचारीहरुले सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्ने वा सामाजिक सञ्जाल मार्फत मत मागेको अनुगमनको क्रममा देखिएको बताएको छ।

निर्वाचन आचारसंहिताअनुसार प्रचारप्रसार गर्न/गराउन नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको भन्दै त्यस्ता कर्मचारीहरुलाई निर्वाचन आयोग, ऐन २०७३ को दफा २३ बमोजिम स्पष्टीकरण सोधी कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ।

“अनुगमन गर्दा आचारसंहिताको प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरु राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा सम्लग्न भएको पाइएको छ । त्यसरी प्रचारप्रसारमा सम्लग्न कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरुका प्रचार सामग्रीहरुको शेयर र लाइक गर्ने गरेका घटनाहरु अनुगमनका क्रममा पाइएकाले आयोगले आवश्यक कारबाही प्रारम्भ गरेको छ,” प्रेस विज्ञप्तीमा भनिएको छ।

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को बारेमा स्मरणसमेत गराएको छ।

निर्वाचन आचारसंहितामा, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक, सरकारी वा गैह्रसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचारणहरुबारे स्पष्ट व्यवस्था गरिएको छ ।

त्यसैगरी आचारसंहितामा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा सम्लग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ।

प्रकाशित: २५ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...