नेपालमा फोरजी प्रयोगकर्ता करिब दुई गुणाले बढे

  • Technology Khabar | २५ आश्विन २०७९, मंगलवार
नेपालमा फोरजी प्रयोगकर्ता करिब दुई गुणाले बढे

काठमाडौं ।

नेपालमा फोरजी इन्टरनेट प्रयोग गर्नेको संख्या उल्लेखनिय रुपमा वृद्धि भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको अनुसार नेपालमा अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/७९ मा फोेरजी इन्टरनेट प्रयोगकर्ता भारी मात्रामा बढेका छन्।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ असार मसान्तसम्ममा नेपालमा फोरजी प्रयोगकर्ता ९९ लाख ५४ हजार ११९ रहेका थिए। यो संख्या गत आर्थिक वर्ष २०७८÷७९ असार मसान्तसम्ममा ८६ लाख ५ हजार ४०३ ले बढेर १ करोड ८५ लाख ५९ हजार ५२२ पुगेको छ। एक वर्षको अवधिमा फोरजी ग्राहक ८६.४५ प्रतिशत अर्थात करिब दुई गुणाले बढेका छन्।

नेपालमा ३ ओटा दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराउँदै आएका छन्। प्राधिकरणको एमआईएस प्रतिवेदन अनुसार सबैभन्दा धेरै फोरजी ग्राहक नेपाल टेलिकमको रहेको छ।

गत आव २०७८/७९ को असार मसान्तमसम्म नेपाल टेलिकमको फोरजी ग्राहक १ करोड १२ लाख ९७ हजार ४६२ रहेका छन्। अघिल्लो आवमा नेपाल टेलिकमको फोरजी ग्राहक ४७ लाख ४४ हजार ३७५ रहेको थियो। एक वर्षको अवधिमा नेपाल टेलिकमले ६५ लाख ५३ हजार ८७ ले फोरजी ग्राहक बढाएको छ।

७१ लाख १५ हजार ६७८ फोरजी ग्राहक सहित आजियाटा एनसेल दोस्रो स्थानमा छ। अघिल्लो आवमा एनसेलको फोरजी ग्राहक ५० लाख ४२ हजार ९९८ थिए। एक वर्षको अवधिमा एनसेलले २० लाख ७२ हजार ६७० ले फोरजी ग्राहक बढाएको छ।

दुई दूरसञ्चार सेवा प्रदायकले फोरजी ग्राहक बढाउँदा अर्को कम्पनी स्मार्ट टेलिमकको भने घटेको देखिन्छ। एक वर्षको अवधिमा स्मार्ट टेलिकमले २० हजार ३६४ फोरजी ग्राहक गुमाएको छ। अघिल्लो आवको असार मसान्तमा स्मार्ट टेलिकमको फोरजी ग्राहक १ लाख ६६ हजार ७४६ थिए भने गत आवको असार मसान्तमा १ लाख ४६ हजार ३८२ मा झरेको छ।

प्रकाशित: २५ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

स्मार्टफोनहरूको मूल्य धेरै महँगो हुने

  • Technology Khabar
  • २५ आश्विन २०७९, मंगलवार