सामाजिक सञ्जालबाट गरिएको विज्ञापन निर्वाचन खर्चमा समावेश हुने

  • Technology Khabar | २४ आश्विन २०७९, सोमबार
सामाजिक सञ्जालबाट गरिएको विज्ञापन निर्वाचन खर्चमा समावेश हुने

काठमाडौं ।

सामाजिक सञ्जालबाट गरिएको विज्ञापनहरु निर्वाचनको खर्चमा समावेश हुने निर्वाचन आयोगले जनाएको छ। यसका साथै निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७ बमोजिम अनुगमन समेत भईरहेको आयोगले बताएको छ।

यहि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएसंगै विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालको समेत प्रयोग गरी प्रचारप्रसार र विज्ञापन गर्न थालेको भन्दै त्यस्तो विज्ञापनहरुको खर्च निर्वाचनको खर्चमा समावेश हुने निर्वाचन आयोगले जानकारी दिएको हो।

आयोगले जारी गरेको ‘निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ बमोजिम निर्वाचनका सवै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने र सामाजिक सञ्जालमा सम्प्रेषित सूचना सामग्रीको प्रभावकारी नियमन, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी आयोगको सचिवालय र अन्तर्गतका कार्यालय समेतको संयन्त्र बनाइ नीतिको कार्ययोजना वमोजिम भए गरेका काम कारवाहीको निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने कार्य भइरहेको उल्लेख छ।

“प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हदसमेत निर्धारण गरी सार्वजनिक गरिसकेको अवस्थामा दल र उम्मेदवारले सामाजिक सञ्जालको प्रयोग समेतबाट गर्ने विज्ञापनलाई निर्वाचन खर्चमा समावेश गरिने विषयवारे आयोग, सम्बन्धित दल र उम्मेदवारलाई स्मरण गराउन चाहन्छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरिएको छ। सामाजिक सञ्जालवाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुन बमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे नगरेको वारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाइ परीक्षण गरिने भएकाले सामाजिक सञ्जाल मार्फत हुने विज्ञापनका सबै खर्च विवरण समेत चुस्तदुरुस्त राख्न सम्बन्धित सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन्छ।” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

यसका साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को (ठ) मा सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, द्वेषपूर्ण अभिव्यक्ति दिने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने व्यवस्था रहेको पनि स्मरण गराएको छ।

प्रकाशित: २४ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...