
काठमाडौं ।
आईफोन पछि, अब एप्पलले आफ्नो एयरपड्स र बीट्स हेडफोनको उत्पादन चीनबाट भारतमा सार्ने तयारी गरिरहेको छ। जापानी पत्रिका निकाईको रिपोर्ट अनुसार एप्पलले आफ्ना आपूर्तिकर्ताहरूलाई एयरपड र बीट्सको केही उत्पादन चीनबाट भारतमा सार्न आग्रह गरेको छ।
वास्तवमा चीनको कडा लकडाउन नीति तथा अमेरिका र चीनबीचको तनावका कारण एप्पलले चीनमाथिको आफ्नो निर्भरता घटाउन चाहन्छ।
फक्सकन भारतमा बीट्स हेडफोन बनाउने तयारी गर्दै
आईफोन एसेम्बलर फक्सकनले भारतमा बीट्स हेडफोन बनाउने तयारी शुरु गरेको छ। यसपछि एयरपड भारतमा पनि उत्पादन गर्न सकिन्छ।
आइफोनपछि एप्पलका उत्पादनहरूमा एयरपड सबैभन्दा लोकप्रिय उत्पादन हो। एयरपडहरू हाल भियतनाम र चीनमा उत्पादन भइरहेका छन्, र बीट्सको अधिकांश उत्पादन भियतनाममा हुन्छ।
एप्पलले भारतमा आईफोन १४ को उत्पादन सुरु गरेको छ। कम्पनीले चाँडै नै भारतमा बनेको मेड इन इन्डिया आईफोन १४ युरोपमा निर्यात गर्न थाल्नेछ।
प्रकाशित: २३ आश्विन २०७९, आईतवार