सोशल मिडियाबाट एक हप्ता ब्रेक लिनुस्, डिप्रेसन र चिन्ताका लक्षणहरूलाई कम गर्नुस्

  • Technology Khabar | २० आश्विन २०७९, बिहीबार
सोशल मिडियाबाट एक हप्ता ब्रेक लिनुस्, डिप्रेसन र चिन्ताका लक्षणहरूलाई कम गर्नुस्

काठमाडौं ।

इन्स्टाग्राम, फेसबुक, स्न्यापच्याट, ट्विटर, रेडिट, लिंक्डइन..। आज विश्वका धेरैजसो व्यक्तिहरूले निश्चित रूपमा यी सोशल मिडिया एपहरू प्रयोग गरिरहेका छन्। जसका कारण उनीहरु तनाव, चिन्ता र डिप्रेसन जस्ता मानसिक रोगको शिकार भइरहेका छन् । यी रोगहरूबाट बच्न स्वास्थ्य विशेषज्ञहरूले डिजिटल डिटक्सको अवधारणाको खोजी गरिरहेका छन्।

हालै बेलायतको बाथ युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले एक अनुसन्धानमा सामाजिक सञ्जालबाट एक हप्ताको ब्रेकले तपाईको मानसिक स्वास्थ्यमा सुधार ल्याउन सक्ने बताएका छन्। अर्थात्, यदि तपाई डिप्रेसन र एन्जाइटीका लक्षणहरूसँग संघर्ष गर्दै हुनुहुन्छ भने, त्यसलाई एक हप्तामा कम गर्न सकिन्छ।

डिजिटल डिटक्स के हो ?

विज्ञहरूका अनुसार मानिस जसरी रक्सी र चुरोटको लतमा फसेका छन्, त्यसरी नै भर्चुअल संसारमा बाँच्ने बानी परेको छ। उनीहरुले चाहेर पनि यसबाट बाहिर निस्कन सक्दैनन्। यस्तो अवस्थामा आफूलाई टेक्नोलोजीको जालमा पर्नबाट केही समयको लागि डिजिटल बिदामा जानुलाई ‘डिजिटल डिटक्स’ भनिन्छ।

यस्तो छ अनुसन्धान

अनुसन्धानहरूले यस अनुसन्धानमा १८ देखि ७२ वर्षका १५४ जनालाई समावेश गरेका थिए। उनीहरुलाई दुई समूहमा विभाजन गरिएको थियो । पहिलो समूहलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइए पनि दोस्रो समूहले भने सामाजिक सञ्जालको प्रयोगलाई निरन्तरता दिएको थियो।

सहभागीहरूले सामाजिक सञ्जाल एपहरू खेल्न हप्तामा औसत ८ घण्टा बिताए।

एक हप्ताको अनुसन्धानपछि सहभागीहरुको ३ ओटा परिक्षण गरिएको थियो। यसमा डिप्रेसन र एन्जाइटीसँग सम्बन्धित प्रश्नहरू थिए।

परिणामहरूले वारविक-एडिनबर्ग मेन्टल वेलविईङ स्केलमा एक हप्ताको विश्राम लिने समूहको स्वास्थ्य ४६ बाट ५५.९३ मा बढेको फेला पार्यो। साथै, बिरामी स्वास्थ्य प्रश्नावली-८ मा उनीहरूको डिप्रेसन स्तर ७.४६ बाट ४.८४ मा आयो। यस मापनमा, चिन्ता ६.९२ बाट ५.९४ मा घट्यो।

सामाजिक सञ्जालबाट छोटो ब्रेक उपयोगी

अनुसन्धानकर्ता जेफ ल्याम्बर्ट भनाईअनुसार एक हप्तामा पहिलो समूहका मानिसहरूको मुडमा सुधार भयो र चिन्ताको लक्षणहरू कम भयो। यसको मतलब सामाजिक सञ्जालबाट सानो ब्रेकले पनि मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ।

डेली मेलको रिपोर्टअनुसार बेलायतमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या २०११ मा ४५% बाट बढेर २०२१ मा ७१% पुगेको छ। साथै, १६ देखि ४४ वर्ष उमेर समूहका ९७% व्यक्तिहरूले सामाजिक सञ्जाल एपहरू प्रयोग गर्छन्। प्रयोगकर्ताहरूको सबैभन्दा सामान्य गतिविधि एपहरूमा सामग्री ‘स्क्रोल’ गर्नु हो। यस्तै केही अध्ययन अमेरिका र बेलायतमा पनि भइसकेका छन् ।

प्रकाशित: २० आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...