
काठमाडौं ।
नेपालमा अर्को आर्थिक वर्ष २०८०/८१ मा मात्रै फाइभजी सेवा शुरु हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजी सेवा परीक्षणका लागि अनुमति दिइसकेको छ। तर यसको प्रकृया र काम भने निकै सुस्त छ।
यसै वर्ष परीक्षण गरिने भनेर आश्वस्त गराउँदै आएको भएपनि नेपाल टेलिकमले अब फाइभजी सेवा परीक्षणको काम अर्को वर्षका लागि सरेको छ।
सरकारले आफ्नो स्वामित्व रहेको नेपाल टेलिकमलाई फाइभजी परीक्षणको अनुमति दिएपनि अर्को मोबाइल अपरेटर एनसेलले भने फाइभजी परीक्षणको अनुमति पाएको छैन। एनसेलले आफूले अनुमति पाएको अवस्थामा प्राविधिकरुपमा आफु पूर्णरुपमा सेवादिन तयार भएको बताएको छ।
यता नेपाल टेलिकमका वैदेशिक विभागका वरिष्ठ अधिकृत विवेक महर्जनले, चीनबाट फाइभजीको लागि सामान ल्याउने तयारी भएको जानकारी दिए।
उनले टेक्नोलोजीखबरसँग कुरा गर्दै भने, “विदेशी गोपनियताका लागि ठेक्का पाएको कम्पनीको पहिलो सामान नआउँदासम्म नाम नभनौं, उक्त कम्पनीले तिहारपछि चीनबाट फाइभजी सामान ल्याउन प्रकृया अगाडी बढाउने टेलिकमलाई जानकारी दिएको छ, ४ महिनामा सामान आउने छ, प्रकृया र फ्री परिक्षणका लागि ३ महिना लाग्ने भएकाले आगामी आर्थिक वर्ष २०८०/८१ पहिलो सत्रमै फाइभजी नेपालमा शुरु हुने ठोकुवा गर्न सकिन्छ।”
टेलिकमका वैदेशिक विभागका महर्जनले नियमानुसार चीनबाट सामान ल्याउने प्रकृयामा २ साता लागेपनि वैदेशिक कुटनीतिमा सम्बन्धित संस्थामात्र नभएर परराष्ट्र मन्त्रालय लगायत नेपाल सरकारको वैदेशिक निकायको सहभागिता हुने भएकाले केही ढिला भएमा पनि आत्तिन नहुने उल्लेख गरे।
यही असोज १५ गते शनिबार नेपालको छिमेकी राष्ट्र भारतमा फाइभजी सेवा शुरु भयो। सन् २०२३ मा भारतका सबै क्षेत्रमा फाइभजी सेवा पुर्याउने भारतले जनाएको छ।
यस्तो अवस्थामा नेपाल भने अझै अर्को आर्थिक वर्ष भनेर कुर्नुपर्ने अवस्था पुगेको छ।
वास्तवमा भन्ने हो भने सन् २०१३ मा फाइभजी मोबाइल नेटवर्कको विकास भएको हो। अहिले ७१ देशमा उक्त सेवा छ। यो फाइभजी सेवा, फोरजीभन्दा सय गुणा तीब्र रहेको टेलिकमले जनाएको छ।
पाँचौ पुस्ताको यो मोबाइल इन्टरनेट सेवा सन् २०१९ बाट यो सेवा विश्वमा सुरु भएपनि टेलिकमको विकासमा अघि रहेको सरकारी कम्पनी नेपाल टेलिकम पर्ख र हेरको स्थितीमा देखिएको छ।
अहिले लागु भएका ७१ ओटा देशमा फाष्ट मोबाइल इन्टरनेटको रुपमा फाइभजीलाई हेरिएको छ।
विश्वमा व्यवसायीक रुपमा अघि बढेको फाइभजी सेवा नेपालमा आगामी आर्थिक वर्ष २०८०/८१ कै पहिलो सत्रमा आउँछ भन्ने जानकारी भन्नेलाई फूलको माला सुन्नेलाई सुनको माला कथा भन्दा राखिने वाक्य त हुने होइन? सञ्चार मन्त्रालय, परराष्ट्र मन्त्रालय, अब नयाँ बन्ने सरकार र संसदले यस विषयमा मौनता साँध्ने हुन् की फाइभजीले नेपाललाई जोड्ने हुन भनेर हेर्न बाँकी नै छ।
प्रकाशित: १८ आश्विन २०७९, मंगलवार