
काठमाडौं ।
सबै बैंक तथा वित्तीय संस्थाहरुले मालपोत तथा नापीका सबै कामहरु डिजिटल प्रणाली मार्फत गर्नसक्ने भएका छन्।
नेपाल राष्ट्र बैंकले बिहिबार सूचना जारी गरी बैंक तथा वित्तीय संस्थाहरुले मालपोत तथा नापीका सबै काम डिजिटल प्रणाली मार्फत गर्न गराउन यस्तो निर्देशन दिएको हो।
निर्देशनमा केन्द्रीय बैंकले मालपोत कार्यालयबाट कुनै वित्तीय संस्थालाई जग्गाको पूर्ण विवरण सहज पार्न भनिएको छ।
यसअघि विवरण सहितको पत्रसाथ आधिकारिक व्यक्ति नापी कार्यालयमा उपस्थित भई नियमानुसार राजश्व बुझाई नापी कार्यालयबाट एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा उपलब्ध गराउँदै आएको थियो।
यसअघि नै सरकारले ल्याएको अनलाइन सेवा मेरोकित्ता डटकम लाई बैंक तथा वित्तीय संस्थाहरुले मान्यता दिनेछन्।
जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन प्रणालीमार्फत कित्ता नापी नक्सा, धरौटी, फिल्डबुक, प्लट रजिष्टर प्रिन्ट तथा राजश्व भुक्तानी लगायतका सेवाहरु नापी कार्यालयमा उपस्थित नभई प्राप्त गर्न सक्नेछन्। यसको लागी उनीहरुले यूजर एकाउन्ट लिनुपर्नेछ।
गत भदौ २६ गते मेरोकित्ता डिजिटल प्रणालीलाई मान्यता दिई बैंकको काम गर्नका लागि वित्तिय संस्थाहरुलाई निर्देशन दिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो।
जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८” को अनुसूची ४ बमोजिमको ढाँचामा निवेदन अपलोड गरी अनलाइन प्रणाली मार्फत कित्ता नापी नक्सा, धरौटी, फिल्डबुक, प्लट रजिष्टर प्रिन्ट तथा राजश्व भुक्तानी लगायतका सेवाहरु नापी कार्यालयमा उपस्थित नभई प्राप्त गर्न सक्ने व्यवस्था रहेकोले त्यस मातहतका सबै बैक तथा वित्तीय संस्थाहरुलाई उक्त सेवा उपयोगि हुनेछ।
घरजग्गाको सबै कारोबार मालपोतदेखि बैंकसम्म अब डिजिटल प्रणाली मार्फत हुने भएको हो।
प्रकाशित: १३ आश्विन २०७९, बिहीबार