
काठमाडौं ।
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको फाराम भर्न सेवाग्राहीले अनलाइनमै महिनौँ लाइन बस्दा पनि सकिरहेका छैनन् तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाको प्रवेशद्वारअगाडि नाङ्लो पसल राख्नेले भने एकैछिनमा फाराम भरिदिन्छन् । ‘सेवा शुल्क’ मात्र हजार रुपियाँ पर्छ ।
अनलाइन आवेदन कति बजेदेखि खुल्छ भन्ने नाङ्लो पसल राख्नेलाई थाहा हुन्छ । अनि उनीहरूले भरेको फाराम अनलाइनमा स्वीकृत हुन पनि समय लाग्दैन तर सेवाग्राही आफैँले भर्न भने महिनौँ मुस्किल हुन्छ । आवेदन २४ घण्टा खुला भनिएको हुन्छ तर रातिको १२–१ बजे भर्दासमेत सेवाग्राहीले फाराम भर्न सकेका हुँदैनन् । यस्तैमा बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय एकान्तकुनाले लाइसेन्सको नयाँ आवेदन छठसम्मका लागि बन्द गरेको छ । सरुवा भएर आउने १५ जना कर्मचारी कार्यालयमा हाजिर नभएकाले र बाँकी रहेकाले काम गर्नुपर्ने भएकाले बन्द गरिएको एकान्तकुनाका कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिए।
अनलाइन आवेदन खुला भएको समयमा भर्नेको चाप, तोकिएको कोटा पूरा भएपछि भर्न नसकिने प्रमुख कपालीको भनाइ छ । उनले भने, “फाराम भर्नेले भर्न नसक्नुको मुख्य कारण कोटा सकिएपछि हो, अर्को कुरा मोबाइलबाट भर्दा समस्या देखिएको छ, विवरण पछि सच्याउनुपर्ने केस आइरहेका छन् । त्यसैले ल्यापटप वा कम्प्युटरबाटै भर्दा राम्रो हुन्छ ।”
एकान्तकुना कार्यालयले तत्कालका लागि अनलाइन आवेदन बन्द गरेपछि खुला रहेका अन्य कार्यालयमा फाराम भर्न नाङ्लो पसलहरूले सेवाग्राहीलाई सुझाव दिन्छन् । एकान्तकुनामा नाङ्लो पसल राख्नुभएकी सम्झना दिदीले भनिन्, “यहाँ बन्द छ, राधेराधेमा भर्ने हो भने भोलि बिहान भरिदिन्छु । हजार रुपियाँ लाग्छ, मैले भर्ने होइन छोरीले कोठाबाटै भरिदिन्छे।”
तोकिएको कोटा अनलाइनमा उपलब्ध छैन भने आवेदन भर्न सकिँदैन । काठमाडौँ उपत्यकाका चारओटा यातायात कार्यालयमा तोकिएको दिनभन्दा पहिल्यै कोटा सकिएपछि थप आवेदन भर्न नसकिएको हो । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले प्रदेशभित्र आवेदन सङ्ख्याको दैनिक कोटा तोक्छ ।
मन्त्रालयका अनुसार प्रायःजसो यातायात व्यवस्था कार्यालय चाबहिलमा दैनिक ८००, ठूलो भर्याङमा ९००, जगाती राधेराधेमा ८५० वटा कोटा तोकिएको हुन्छ तर ती कोटा समयअगावै सकिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले भने, “काठमाडौँको हकमा १५ दिनका लागि छुट्याइएको कोटा पाँच दिनमै भरिन्छ । अनि बाँकी १० दिनमा भर्नेको फाराम भरिँदैन, अहिले भएको त्यही हो, यसलाई हामी व्यवस्थापन गर्दैछौँ ।” अनलाइन आवेदन सहज बनाउन ट्रायल सेन्टर, कोटा र यातायात कार्यालयमा कर्मचारी थप गर्नुपर्ने पोख्रेलको भनाइ छ।
यातायात व्यवस्था विभागका अनुसार दैनिक १२ हजारसम्म नयाँ आवेदनको कोटा छुट्याउँदा पनि सेवाग्राहीको चाप घटेको छैन । अन्य प्रदेशमा दैनिक कोटा पुगेको छ तर काठमाडौँ उपत्यकामा अभाव छ । विभागका अनुसार गण्डकी, लुम्बिनी र बागमतीमा चाप बढी छ ।
अनलाइन आवेदन सुरु भएदेखि हालसम्म पाँच लाख आठ हजार ८७० जनाको आवेदन रुजु गरेर सम्बन्धित कार्यालयमा पठाइएको विभागका निर्देशक श्रीचन्द्र साहले जानकारी दिए । हालसम्म नौ लाख ३५ हजार सात सय जनाले अनलाइन फाराम भर्न साइट भिजिट गरेका छन् । उनले भने, “जति कोटा छ, त्यसको ८० प्रतिशतले कार्यालय भिजिट गर्छन् । दैनिक १० देखि १२ हजारसम्म आवेदन आउँछन्, जसमा पाँच हजारले कार्यालय भिजिट गर्छन् ।”
समस्या समाधानका लागि विभागले थप पहल गरिरहेको विभागका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए । ‘मास प्रिन्टर’ र थप नयाँ प्रिन्टकार्ड ल्याउन सकियो भने अनलाइन आवेदन भर्न नपाएका सेवाग्राहीको पनि समस्या समाधान हुने उनको दाबी छ । गोरखापत्रबाट
प्रकाशित: १३ आश्विन २०७९, बिहीबार