‘टकिङ टिचर’ प्रविधिबाट सामुदायिक विद्यालयमा पढाइ

  • Technology Khabar | ११ आश्विन २०७९, मंगलवार
‘टकिङ टिचर’ प्रविधिबाट सामुदायिक विद्यालयमा पढाइ
सांकेतिक तस्बिर

काठमाडौं ।

सिन्धुलीका सामुदायिक विद्यालयमा ‘टकिङ टिचर’ प्रविधिबाट पढाइ हुन थालेको छ। दुधौली नगरपालिका–३ का सबै सामुदायिक विद्यालयमा मंगलबारदेखि पढाइ भएको हो। सो वडामा चारवटा सामुदायिक विद्यालय छन्।

वडा नं.३ मा रहेका जनहित आधारभूत विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय, जनकल्याण निमावि र निमावि झुँगाले नयाँ प्रविधि अर्थात् टकिङ टिचर’ प्रविधिबाट पढाइ सुरु गरेको जनाएका छन् ।

बाल कक्षादेखि पाँच कक्षासम्म अङ्ग्रेजी विषय ‘टकिङ टिचर’ अर्थात् आफैँ पढाउने कलम र स्मार्ट किताबमार्फत अध्यापन गराउन थालिएको हो।

जनहित आधारभूत विद्यालयका प्रधानाध्यापक रमेश कटुवालले नयाँ प्रविधि ‘स्मार्ट किताब र आफैँ पढाउने कलम’ का माध्यमबाट बालबालिकालाई अध्यापन गराउन थालिएको जानकारी दिए। बोर्डिङ स्कुलप्रतिको आकर्षण घटाई सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त प्रविधिलाई भित्र्याइएको उनले सुनाए। हाल एक सेट आफैँ पढाउने कलम र स्मार्ट किताब उपलब्ध भएकाले पालैपालो कक्षामा क्रमशः पढाउने गरिएको उनले बताए।

“परम्परागत शिक्षण पद्धतिले पढाइप्रति विद्यार्थीको रुचि घट्दै गएको र उनीहरूलाई पढाइमा आकर्षित गर्न विद्यालयमा आधुनिक प्रविधिको विस्तार गर्न थालेका हौँ,” उनले थपे।

वडाको तीन लाख पचास हजार लगानीमा आफ्नो वडाभित्र रहेका चारओटा सामुदायिक विद्यालयमा ‘टकिङ टिचर’ प्रविधि भित्र्याइएको जिल्लाकी एकमात्र महिला वडाध्यक्ष भद्राकुमारी माझीले बताइन्। बोर्डिङ स्कुलप्रतिको मोह घटाई सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले आधुनिक प्रविधिलाई अवलम्बन गर्दै अध्यापन गराउन थालिएको उनको भनाइ छ।

यस प्रविधिलाई बोल्ने कमल पनि भनेर बुझ्ने गरिन्छ । बोल्ने कलमले स्मार्ट किताबको अक्षरमा छुवाउँदा शुद्धसँग बुझ्ने गरी पढाउँछ। यो प्रविधिमार्फत् विद्यार्थीलाई अंग्रेजी शुद्धसँग उच्चारण गराउन र पढाइप्रति आकर्षित गराउन शिक्षकलाई समेत सहज हुने जनकल्याण निम्नमाध्यमिक विद्यालय, तल्लो खुट्टेपानीका प्रधानाध्यापक ओमबहादुर सुनुवारले बताए ।

‘बालबालिकाले उच्चारण गरेका शब्द पुनः सुनाउन पनि मिल्ने रहेछ, यसले उनीहरूलाई शुद्धसँग बोल्न, पढ्न र लेख्न प्रेरित गर्दछ,’ उनले भने।

उक्त प्रविधिको विकासले सामुदायिक विद्यालयमा देखिँदै आएको अङ्ग्रेजी भाषासम्बन्धी समस्या न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो प्रविधिमार्फत विद्यार्थीलाई अङ्ग्रेजी शुद्धसँग उच्चारण गराउन र पढाइप्रति आकर्षित गराउन शिक्षकलाई सहज भएको बताइएको छ।

प्रकाशित: ११ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार