
काठमाडौं ।
तारमा आधारित इन्टरनेट (एफटीटीएच) जडानमा नेपाल टेलिकमले आफ्नै लक्ष्य प्राप्त गर्न नसकेको देखिएको छ। नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को साउन महिनामा सातै प्रदेशमा कुल २५ हजार एफटीटीएच जडान गर्ने लक्ष्य राखेको थियो।
नेपाल टेलिकमको आन्तरिक स्रोतले टेक्नोलोजीखबरलाई उपलब्ध गराएको तथ्यांक अनुसार नेपाल टेलिकम एफटीटीएच जडानमा आफैँले लिएको लक्ष्य हासिल गर्न असफल देखिएको छ।
चालु आवको साउन महिनामा नेपाल टेलिकमले १० हजार १५५ एफटीटीएच जडान जडान गरेको छ। यो भनेको नेपाल टेलिकमको लक्ष्यको जम्मा ४१ प्रतिशत मात्रै हो।
नेपाल टेलिकमले आफ्नो लक्ष्यको सबैभन्दा कम सफलता प्रदेश १ मा प्राप्त गरेको छ। प्रदेश १ मा साउन महिनामा नेपाल टेलिकमले ४ हजार १९ स्थानमा एफटीटीएच जडान गर्ने लक्ष्य बनाएको छ। तर साउनमा २३ प्रतिशत अर्थात जम्म ९३७ स्थानमा मात्रै एफटीटीएच जडान भएको छ।
एफटीटीएच जडानमा नेपाल टेलिकमले कर्णाली प्रदेशमा लक्ष्य नाघेको देखिन्छ। कर्णाली प्रदेशमा नेपाल टेलिकमले ११८ प्रतिशत एफटीटीएच जडान गरेको छ। यो प्रदेशमा नेपाल टेलिकमले साउनमा २६३ स्थानमा एफटीटीएच जडान गर्ने लक्ष्य लिएको ३११ स्थानमा जडान गर्न सफल भएको हो।
नेपाल टेलिकमले मधेश र सूदुरपश्चिम प्रदेशमा आफ्नो लक्ष्यको जम्मा २५/२५ प्रतिशत मात्र सफलता हात परेको छ। मधेश प्रदेशमा २ हजार ३४ स्थानमा एफटीटीएच जडान गर्ने लक्ष्य लिएकोमा ४९९ र सूदुरपश्चिम प्रदेशमा ७२६ स्थानमा एफटीटीएच जडान गर्ने लक्ष्य राखिएकोमा १८९ स्थानमा मात्रै एफटीटीएच जडान भएको छ।
यस्तै, लुम्बिनी प्रदेशमा २६ प्रतिशत मात्रै लक्ष्य हासिल गरिएको छ। लुम्बिनीमा ३ हजार ३६६ स्थानमा एफटीटीएच जडान गर्ने लक्ष्य राखिए पनि ८८४ स्थानमा मात्रै जडान गरिएको छ।
गण्डकी प्रदेशमा २ हजार ९६५ स्थानमा एफटीटीएच जडान गर्ने लक्ष्य लिएकोमा १ हजार ३०८ स्थानमा मात्रै एफटीटीएच जडान भएको छ। यो लक्ष्यको ४४ प्रतिशत हो।
बागमती प्रदेशमा नेपाल टेलिकमले लक्ष्यको ५२ प्रतिशत सफलता प्राप्त गरेको छ। बागमती प्रदेशमा साउनमा ११ हजार ५९० स्थानमा एफटीटीएच जडान गर्ने लक्ष्य राखिएकोमा ६ हजार २७ स्थानमा मात्रै जडान भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको जेष्ठको एमआईएस प्रतिवेदन अनुसार नेपाल टेलिकमको एफटीटीएचबाट १ लाख ८५ हजार ५९५ ग्राहकले सेवा लिइरहेका छन्।

टेलिकमको व्यवस्थापनले आफ्नो लक्ष्य प्राप्त गर्न उचित ध्यान दिन नसक्दा एफटीटीएच जडानमा सफलता हासिल गर्न नसकेको बताइएको छ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक (एमडी) सुनिल पौडेल र व्यवस्थापन ग्राहकलाई सेवा प्रदान गर्ने तर्फ केन्द्रित हुनुभन्दा अन्य विषय वस्तुमा बढी आकर्षित हुँदा एफटीटीएच जडानमा कार्यालय आफैंले राखेको लक्ष्य भेटाउन असमर्थ भएको स्रोतले बताएको छ।
‘प्रबन्ध निर्देशक काम गर्ने र संस्थालाई उकास्ने भन्दा आफ्ना मान्छेलाई ठेक्का र काम दिलाउनेमै केन्द्रित छन्। नयाँ काम र योजना नहुँदा सबै भद्रगोल छ,’ टेलिकम स्रोतले भन्यो।
प्रकाशित: ९ आश्विन २०७९, आईतवार