गाईको घाँटीमा सेन्सर माला, मोबाइल एप्लिकेसनमार्फत गाईको निगरानी गर्ने

  • Technology Khabar | ५ आश्विन २०७९, बुधबार
गाईको घाँटीमा सेन्सर माला, मोबाइल एप्लिकेसनमार्फत गाईको निगरानी गर्ने

काठमाडौं ।

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनले सुरु गरेको नेक कोलार सिस्टम (गाईको घाँटीमा बाँधिने सेन्सर माला) प्रभावकारी बन्दै गएको छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गत रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले गत वैशाख महिनादेखि सुरु गरेको नेक कोलार सिस्टम प्रभावकारी बन्दै गएको देखिएको हो।

अनुसन्धान कार्यक्रमको फार्ममा रहेका २०५ वटा गाई तथा बाच्छाबाच्छीमध्ये २० वटा गाईमा नेक कोलार लगाउन सुरु गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको नेक कोलार (गाईको घाँटीमा बाँधिने सेन्सर माला) कार्यक्रमलाई निरन्तरता दिन यो वर्ष पनि बजेट विनियोजन गरिएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख सागर पौडेलले जानकारी दिए।

नेक कोलार सिस्टमले फार्ममा रहेका गाईहरूको वास्तविक अवस्था के छ भनेर सजिलै पहिल्याउन सकिन्छ, पौडेलले भने, “गाईको स्वास्थ्य अवस्था, खाना खाएको नखाएको, श्वासप्रश्वासको अवस्था तथा गाई ‘हिट’मा आएको नआएको भन्नेलगायतका कुरा कम्प्युटरमै बसेर पत्ता लगाउन सकिने पद्धति हो। फार्म परिसरमा जडान गरिएको कन्ट्रोलरले गाईको घाँटीमा बाँधिएको सेन्सरसँग समन्वय गरेर डाटालाई कम्प्युटरसमक्ष ल्याउने काम गर्छ।”

गोठमा रहेका गाईको समग्र अवस्था के छ भनेर देशको जुन कुनै ठाउँमा रहेर पनि मोबाइलमार्फत हेर्न सकिने भन्दै उनले यसले गाईकै गोठमा बसिरहनुपर्ने झन्झटलाई हटाएको बताए।

घाँटीमा लगाएको मालाले उसको अवस्थाका बारेमा टावरमा पठाउँछ, टावरबाट कम्प्युटरमा, एप्समा पठाएर ग्राफ देखाउँछ। त्यही ग्राफको सन्देश मोबाइलमा एसएमएस पठाएपछि थाहा पाइने प्रमुख पौडेलले भने। पौडेलका अनुसार यसले समय, श्रम र ज्यालाको समेत बचत भएको छ।

गाई अनुसन्धान कार्यक्रम रामपुरमा प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डेले नेक कोलार लगाउनुपूर्व गाईको विवरण कम्प्युटरमा प्रविष्ट गरिने र त्यसकै आधारमा कम्प्युटर तथा मोबाइल एप्लिकेसनमार्फत गाईको निगरानी गर्ने काम भइरहेको बताए। इजरायलबाट भित्रिएको यो प्रविधिलाई नेपालका केही निजी फार्महरूले समेत प्रयोग गर्न सुरु गरेको उनले बताए।

कार्यालयकाअनुसार एउटा गाईलाई यो प्रविधि जडान गर्न १६ हजार रुपैयाँ लाग्दछ।

रामपुरस्थित गाई अनुसन्धान कार्यक्रमको गोठमा हाल जर्सी, होलिस्टिन, लुलु, अछामी र तराई प्रजातिका गाईहरू छन्। राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले एक वर्षमा एक करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ। गाई फार्मबाट दूध बिक्री गरेर ९० लाख रुपियाँ र दुग्धजन्य पदार्थबाट १० लाख रुपियाँ राजस्व सङ्कलन गरेको हो।

आर्थिक वर्ष २०७८/७९ मा प्रतिलिटर ६४ रुपियाँमा एक लाख ७५ हजार लिटर दूध बिक्री भएको कार्यालयले जानकारी दिएको छ।

गाई अनुसन्धान कार्यक्रम रामपुरमा कार्यरत जनशक्तिका लागि निर्माण गरिएको ६० घरधुरीमा यहीँबाट उत्पादन हुने गोबर ग्यास प्लान्टबाट खाना पकाउने गरिएको अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख पौडेलले जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: ५ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...