टेलिकमको एपमार्फत वर्ल्डकप देखाउन करोडौं चलखेलको आशंका गर्दै ट्रेड युनियनको गम्भीर ध्यानाकर्षण

  • Technology Khabar | ३१ भाद्र २०७९, शुक्रबार
टेलिकमको एपमार्फत वर्ल्डकप देखाउन करोडौं चलखेलको आशंका गर्दै ट्रेड युनियनको गम्भीर ध्यानाकर्षण
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

फिफा वर्ल्ड कप २०२२ का ६४ ओटै खेलको प्रसारण अधिकार नेपाल टेलिकमको मोबाइल तथा एनटीटिभीमा ओटीटीमार्फत गर्न हचुवाको भरमा सञ्चालक समितिबाट सैद्धान्तिक सहमति दिएकोमा नेपाल टेलिकममा क्रियाशील ४ ओटै ट्रेड युनियनले विरोध गरेका छन्।

यहि मङ्सिर ४ देखि गते कतारमा सञ्चालन हुन लागेको फिफा वर्ल्ड कप २०२२ (FIFA World Cup 2022) का ६४ वटै खेलको प्रसारण अधिकार करिब २४ करोडको लागतसहित नेपाल टेलिकमको मोबाइल तथा एनटिटिभीमा ओटीटीमार्फत गर्नको लागि सञ्चालक समितिबाट हतारोमा सैद्धान्तिक सहमति दिएको प्रति नेपाल टेलिकममा क्रियाशील ४ ओटै ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

युनियनले नेपाल टेलिकमको ग्राहक आधार, ग्राहकसम्म उपलब्ध नेटवर्कको प्रकृति, नेटवर्क अनुसार ग्राहकको फिफा वर्ल्ड कप २०२२ प्रतिको अभिरुची, शहर तथा ग्रामिण ग्राहकको स्क्रिन साइजको प्राथमिकता, एनटिटिभीसंग हुने राजस्व साझेदारीमा प्रभाव जस्ता व्यापारमा महत्वपूर्ण प्रभाव पार्ने तत्वहरुको वस्तुपरक विश्लेषण सहित कम्पनीको व्यावसायिक योजना एवं लाभ लागत, विश्लेषण गरेर मात्र व्यावसायिक योजना बनाउन सकेमात्र त्यस्ता व्यावसायिक योजना अर्थपूर्ण हुने, नत्र त्यस्ता योजना व्यापार घाटाको कारण मात्र बन्ने चेतावनी दिएका छन्।

उनीहरुले विज्ञप्ती जारी गर्दै हचुवाको भरमा गरिने निर्णयले नेपाल टेलिकमले अङ्गिकार गर्ने संस्थागत सुशासन, आर्थिक विनियमावलीले खर्च तथा कार्यक्रम सञ्चालन गर्दा परिकल्पना गरेको पारदर्शिता, नतिजामुखी तथा मितव्ययितालाई समेत नकारात्मक प्रभाव पर्न जाँदा समग्रमा कर्मचारी र कम्पनीको उत्पादकत्वमा समेत प्रत्यक्ष असर पर्ने बताएका छन्।

यसैगरी यस्ता योजनाहरु ट्रेड युनियनका प्रत्यक्ष सरोकारका विषय बन्ने हुँदा यस्तो योजनाको विस्तृत व्यापारिक योजना, व्यापार नाफाको आधार सहितका तथ्य एवं त्यस्ता योजनाको सफलताको लागि युनियनले समेत खेल्न सक्ने भूमिकाका विषयमा विस्तृत छलफल गरी मात्र थप निर्णयमा पुग्न व्यवस्थापन समक्ष अनुरोध गरेका हुन्।

उनीहरुले भनेका छन्- “तसर्थ करीव २४ करोडको लागत सहित व्यापारिक योजनाको लागत संरक्षण र सोको रेट अफ रिटर्नको स्पष्ट आधार एवं आइटी क्षेत्रको सेवाको प्रोक्सि सर्भरमार्फत हुनसक्ने चुहावट तथा अन्य सेवा प्रदायकहरु समेतबाट सोको प्रशारणबाट अपेक्षित व्यापार हुन सक्ने/ नसक्ने यथार्थलाई तथ्यगत रुपमा क्यालकुलेसन गरेर यस्तो व्यापार गर्नु वाञ्छनीय हुनेछ ।”

प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार