
काठमाडौं ।
रिकेन क्लस्टर फर पायनियरिङ रिसर्च (सिपिआर) का अनुसन्धानकर्ताहरूको नेतृत्वमा वैज्ञानिकहरूको टोलीले साइबोर्ग कक्रोच डिजाइन गरेको छ। यी जीवहरू हुन्, तरपनि यी साङ्लोहरू सौर्य प्यानलमा जोडिएको ब्याट्री र रिमोटबाट काम गर्छन्। यसको लागि वैज्ञानिकहरुले ‘मेडागास्कर हिसिङ कक्रोच भनिने साङ्लोहरूमा अनुसन्धान गरेका हुन् ।
साइबोर्ग साङ्लोलाई वातावरणको अनुगमन र प्राकृतिक प्रकोपका बेला उद्धार र खोज अभियानमा प्रयोग गर्न सकिने बताइएको छ।
यो जानकारी एनपीजे फ्लेक्सिबल इलेक्ट्रोनिक्स जर्नलमा प्रकाशित भएको छ, जहाँ वैज्ञानिकहरूले ‘रिचार्जिङ वायरलेस लोकोमोसन कन्ट्रोल’ प्रदर्शन गरेर साइबोर्गहरूको सम्भाव्यता प्रदर्शन गरेका छन्। यस अनुसन्धानमा जापान लगायत अन्य धेरै देशका वैज्ञानिकहरु संलग्न थिए।
अध्ययनकाअनुसार वैज्ञानिकहरूले साइबोर्ग साङ्लोलाई टाढाबाट नियन्त्रण गर्न सकेका थिए। तिनीहरूको माथिपटि धेरै पातलो र लचिलो सौर्य सेलहरू स्थापना गरिएको छ। सम्पूर्ण प्रणाली कक्रोचको स्नायु प्रणालीसँग जोडिएको हुन्छ। यो सम्पूर्ण प्रणाली कक्रोचमाथि झोला जस्तै देखिन्छ। यो यति लचिलो र हल्का छ कि यसले साइबोर्गको गतिबिधिलाई असर गर्दैन। विशेष कुरा के छ भने ब्याकप्याक तयार गरेपछि यसको थ्रीडी प्रिन्ट निकालिएको थियो ।
वैज्ञानिकहरूले ब्याकप्याक तयार गर्दा धेरै पातलो इलेक्ट्रोनिक फिल्महरू परीक्षण गरे, ताकि साङ्लोको गतिलाई असर नहोस्। यसकाेलागि, उनिहरुले मानिसको कपालभन्दा १७ गुणा पातलो फिल्म प्रयोग गरे ।
यसमा एउटा बटन थिचेर साङ्लोको संवेदी अंगहरूमा विद्युतीय प्रवाह पठाइन्छ। यसपछि कक्रोचहरू बायाँ र दायाँ घुम्न थाल्छन्। तिनीहरूलाई वायरलेस सिग्नल प्रयोग गरेर अझ विस्तार गर्न सकिन्छ।
यद्यपि वैज्ञानिकहरूले साइबोर्ग साङ्लोमा गतिशीलता हासिल गरेका छन्, तर यसको दक्षता बढाउन अनुसन्धान अझै जारी छ।
प्रकाशित: २८ भाद्र २०७९, मंगलवार