विदेशी लगानीकर्तालाई अब अनलानबाटै सेवा

  • Technology Khabar | २६ भाद्र २०७९, आईतवार
विदेशी लगानीकर्तालाई अब अनलानबाटै सेवा

काठमाडौं ।

विदेशी लगानीकर्ताले अबदेखि अनलाइनबाटै आफ्नो लगानी प्रस्तावको प्रक्रिया र प्रगतिबारे जानकारी लिन सक्ने भएका छन्। ठूला पूर्वाधार आयोजनामा वैदेशिक लगानी प्रवद्र्धन गर्दै आएको लगानी बोर्डको कार्यालयले यससम्बन्धी पूर्वाधार तयार गरिसकेको गोरखापत्रमा उल्लेख छ।

लगानी बोर्डले २०७५ सालमा आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा जनाएको प्रतिबद्धताअनुरूप भौतिक रूपमा एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्दै आएकोमा अब यसलाई भर्चुअल (अभौतिक) स्वरूपमा विकास गरेको हो। उद्योग विभागले पनि त्रिपुरेश्वरस्थित आफ्नो कार्यालय परिसरमा एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्दै आएको छ।

बोर्डले निर्माण गरेको सो प्रणालीमा विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न आवदेन गरेदेखि नै पहुँच पाउने छन्। त्यस्तो प्रस्तावमा सरोकार राख्ने सरकारी विभाग तथा निकायले पनि सोही प्रणालीमा प्राप्त आवेदन विवरण तथा कागजातका आधारमा सहजीकरण तथा अन्य नियामकीय प्रक्रिया पूरा गर्नुपर्नेछ। प्रणालीमा लगानी बोर्डसहित नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, वन तथा वातावरण मन्त्रालयजस्ता करिब १५ सरोकारवाला निकायलाई आबद्ध गरिएको छ । यो प्रणाली कार्यान्वयनमा आएपछि अब विदेशी लगानीकर्ताले आफूले गरेको प्रस्ताव कुन निकायले अध्ययन गरिरहेको छ र के कस्ता विषयलाई थप प्रस्टीकरण गर्नुपर्ने हुन्छ भन्ने स्पष्ट जानकारी पाउनेछन्।

बोर्डले आगामी बुधबारदेखि राजधानीमा आयोजना गर्न लागेको दिगो पूर्वाधार लगानी मञ्चका अवसरमा यो प्रणालीको उद्घाटन गर्ने तयारी गरेको छ । बोर्डले ओएसएस डट आईबीएन डट ओराजीमार्फत यो सेवा दिनेछ।

बोर्डले बुधबार आयोजना गर्न लागेको लगानी मञ्चमा नेपालमा बन्ने पूर्वाधारलाई दिगो र वातावरणमैत्री बनाउँदै लगानी विषयमा पनि छलफल गरिँदै छ। सार्वजनिक निजी साझेदारी प्रवद्र्धनमार्फत दिगो विकासलाई प्रेरित गर्दै अधिकतम लाभ सुनिश्चित गर्ने विषयमा स्वदेशी तथा विदेशी लगानीकर्ता नीति निर्माता वित्तीय साझेदार तथा अन्य विज्ञबीच परामर्श हुनेछ।

प्रकाशित: २६ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार