
काठमाडौं ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सार्वजनिक सेवा प्रदान गर्ने कार्यालयलाई प्रविधिमैत्री बनाउनु अहिलेको दायित्व रहेको बताउनुभएको छ ।
निजामती सेवा दिवस–२०७९ का अवसर पारेर जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि सञ्चालनमा ल्याएको डिजिटल नागरिक सेवा बडापत्रको शुभारम्भ गर्दै उहाँले व्यवस्था परिर्वतनको अनुभूति जनताले आफ्नो व्यवहारमा महसुस गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “व्यवस्था परिर्वतनको अनभूति व्यवहारमा नभएको गुनासा समाजका विभिन्न तहबाट आएका छन् । परिर्वतनको लक्ष्य नागरिक र जनताको सेवामा सहजता ल्याउनु हो, जनताले विगतमा भन्दा फरक ढङ्गले महसुस गर्ने गरी सम्बन्धित निकाय लाग्नुपर्दछ ।” मुख्यमन्त्री पोखरेलले प्रशासनले सुरु गरेको डिजिटल प्रविधिले सार्वजनिक सेवा प्रवाह र सुशासनमा नयाँ फड्को मारेको उल्लेख गर्दै यसको उपयोग सबै जनसमुदायले गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले डिजिटल बडापत्र अन्य कार्यालयका लागि समेत अनुकरणीय हुनसक्ने र कार्यालयको कार्यसम्पादन सरल र सुशासनलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रशासनले सुरु गरेको डिजिटल श्रव्यदृश्यसहितको बडापत्रमा प्रशासनले प्रदान गर्ने सेवा, सो सेवा प्राप्तिको प्रक्रिया, आवश्यक कागजपत्र, सम्बन्धित शाखा र कोठा नम्बरसमेत उल्लेख गरिएको छ ।
प्रशासनको मुख्य प्रवेशद्वार, प्रतीक्षालय, सेवाग्राहीको बढी भीड हुने नागरिकता, राहदानीलगायत शाखा गरी विभिन्न पाँच स्थानमा डिजिटल बडापत्र र ‘डिस्प्ले’ रहने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।
उहाँका अनुसार श्रव्यदृश्य सामग्रीबाट सेवाग्राहीले सुनेर, पढेर र हेरेर आफूलाई आवश्यक जानकारी थाहा पाउन सक्नेछन् । प्रजिअ आचार्यले भन्नुभयो, “भिडियो र अडियोसहितको सामग्रीले पढ्न नजान्ने सेवाग्राहीका लागि समेत सहयोग पुग्नेछ । प्रशासनको फेसबुक पेजसहित स्थानीय सरकारका वडा कार्यालयसम्म यसलाई लैजाने योजनामा छौँ ।”
प्रकाशित: २३ भाद्र २०७९, बिहीबार