
काठमाडौं ।
राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण गर्ने भएको छ।
शुक्रवार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन,अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रबर्द्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
समझदारीमा प्रबर्द्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष डा. महावीर पुनले हस्ताक्षर गरे।
आगामी वैशाखसम्म आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिनको निर्माण सक्नेगरी काम भएको र त्यसका लागि सरकारले पनि सघाउने भएको हो। यसको लागि सरकारले आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपैयाँ यो आर्थिक वर्षका लागि दिनेछ।
आविष्कार केन्द्रका अध्यक्ष पुनले सिन्केधुप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुडा बनाउनेलगायत मेशिन बनाउन सो रकम खर्च गरिने पुनले बताए। उनले देशको अर्थतन्त्र बढ्न उद्यमीहरुले बढाएर उद्योगहरु सञ्चालन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आविष्कार केन्द्रसँगको समझदारीले आफ्नै उत्पादन प्रयोग गर्ने राष्ट्रिय नीतिलाई सघाउने बताए।
प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार