
काठमाडौं ।
मोबाइल अपरेटर एनसेल आजियाटा लिमिटेडको मोबाइल सेवामा समस्या आएको छ।
बिहानैदेखि एनसेलको कतिपय नम्बरहरुमा कल नलागेपछि सेवाग्राहीहरू समस्यामा परेको जानकारी दिएका छन्।
कम्पनीका केहि नम्बरहरुमा कल लागेपनि अधिकांश नम्बरहरुमा कल नलाग्ने समस्या भएको थियो।
कम्पनीले औपचारिकरुपमा जानकारी नदिएपनि विभिन्न स्थानमा फाइबर काटिँदा सेवामा समस्या भएको बताईएको छ।
तर हाल सो समस्या समाधान भएको बताईएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारीले कम्पनीको सेवामा समस्या आएको र हाल समाधान भएको जानकारी एनसेलले दिएको बताए।
“राजमार्गका विभिन्न स्थानमा फाइबर काटिएसँगै सेवा अवरुद्ध भएको र अहिले समाधान भईसकेको जानकारी कम्पनीले दिएको छ,” प्राधिकरणका सूचना अधिकारी सूर्यप्रसाद लामिछानेले भने।
राजमार्गमा बिछ्याईएका एनसेलको फाइबर काटिँदा समस्या देखिएको बताईएको छ।
प्रकाशित: १३ भाद्र २०७९, सोमबार