
काठमाडौं ।
अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा पुल्चोक इन्जिनियरिङ क्याम्पस तेस्रो भएको छ।
इन्जिनियरिङ अध्ययन संस्थानको पुल्चोक क्याम्पसस्थित रोबोटिक क्लबले भारतको ‘ए’ टिम, भारतको ‘बी’ टिम, जापान, थाइल्यान्ड, चीनलगायत देशलाई पछाडि पार्दै रोवोकोन २०२२ मा तेस्रो स्थान हासिल गरेको जनाएको हो।
यो सँगै ‘नागासे अवार्ड’समेत नेपालले प्राप्त गरेको पुल्चोक क्याम्पसले जनाएको छ।
१२ राष्ट्रका १३ टोलीले भाग लिएको रोबोट प्रतियोगितामा नेपाल हङकङसँग मात्र पराजित भएको थियो।
नम्बरको आधारमा यो प्रतियोगितामा हङकङ पहिलो स्थान प्राप्त गरेको हो।
क्लबले सन् २००२ देखि अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा कुनै न कुनै पुरस्कार प्राप्त गर्दै आएको क्याम्पस प्रमुख प्रो.डा.इन्द्रप्रसाद आचार्यले जनाएका छन्।
टेक्नोलोजिखबरसँग कुरा गर्दै उनले भने,“एशिया प्यासिफिक ब्रोडकास्टिङ युनियन (एवीयु)ले सन् २००० देखि बर्सेनि विभिन्न देशहरूमा विश्वविद्यालयस्तरीय रोबोट प्रतियोगिता आयोजना गर्दै आएको छ र नेपाल पनि सहभागि हुने तथा कुनै पनि स्थानमा पुग्ने गर्छ।”
प्रकाशित: १२ भाद्र २०७९, आईतवार