
काठमाडौं ।
अष्ट्रेलियाको नयाँ सुपर कम्प्युटरले सुपरनोभा रेमनेन्ट वा अवशेषको तस्बिर सिर्जना गरेको छ। सुपरनोभा रेमनेन्ट वा सुपरनोभा अवशेषहरू मर्ने तारामा विस्फोट पछि बाँकी रहेका पदार्थहरू हुन्। अष्ट्रेलियामा एउटा नयाँ सुपर कम्प्युटरले रेडियो टेलिस्कोप अवलोकनहरूलाई संयोजन गरेर सुपरनोभा रेमनेन्टको विस्तृत तस्बिर बनाएको छ।
पावसे सुपर कम्प्युटिङ्ग रिसर्च सेन्टरमा आधारित सेटोनिक्सले अस्ट्रेलियन स्क्वायर किलोमिटर एरे (एस्काप) रेडियो टेलिस्कोपबाट डाटा मिलाएर यो तस्बिर तयार गरेको हो। पर्थको कमनवेल्थ साइन्टिफिक इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसनमा रहेको एस्काप रेडियो टेलिस्कोपमा ३६ ओटा डिशहरु छन्। यी सबै डिशहरू टेलिस्कोप जस्तै एकसाथ काम गर्छन्।
यी सबै डिशहरूद्वारा सङ्कलन गरिएको डाटा उच्च गतिको अप्टिकल फाइबर मार्फत पावर सेन्टरमा स्थानान्तरण गरिन्छ, जहाँ यसलाई प्रशोधन गरिन्छ र छवि उत्पन्न हुन्छ।
सीएसआईआरओका वसीम राजा र पास्कल जहान इलाहीले एउटा लेखमा उल्लेख गरेअनुसार जी२६१.९+५.५ भनिने सुपरनोभा रेमनेन्टको नयाँ छवि सेटोनिक्सले २४ घण्टाभन्दा कम समयमा उत्पादन गरेको थियो।
सेटोनिक्सको पहिलो चरण जुलाईमा लाइभ भएको थियो। जी२६१.९+५.५ पृथ्वीबाट १० हजारदेखि १५ हजार प्रकाश वर्ष टाढा अवस्थित छ। यसलाई खगोलविद एरिक आर हिलले सन् १९६७ मा सुपरनोभा रेमनेन्टको रूपमा वर्गीकृत गरेका थिए। त्यतिबेला उनले एजेन्सीको पार्केस रेडियो टेलिस्कोप मुरियाङ प्रयोग गरे।
माथि उल्लेख गरिएझैं, सुपरनोभा रेमनेन्टहरू मरिरहेका ताराहरूका विस्फोटन अवशेषहरूबाट बनेका छन्। विस्फोट पछि, तिनीहरूको भग्नावशेष तारामण्डलमा सुपरसोनिक गतिमा छरिन्छन र तिनीहरूले बाटोमा भेटिने ग्यासहरू वा अन्य चीजहरूलाई समेटेर लैजान्छ र तिनीहरूलाई धेरै तताएर कम्प्रेस गर्दछ। विस्फोटबाट उत्पन्न शकवेभले नक्षत्रको चुम्बकीय क्षेत्रलाई पनि कम्प्रेस गर्छ।
पछिल्लो छविमा देखाइएको उत्सर्जन अत्यधिक ऊर्जावान इलेक्ट्रोनहरू संकुचित चुम्बकीय क्षेत्रमा फसेको कारणले गर्दा हुन्छ। एस्कापको सहयोगमा बनाइएको छविले यस रेमनेन्टको अध्ययनमा नयाँ ट्विस्ट ल्याउन सक्छ र तारकीय माध्यमको भौतिक गुणहरू विस्तृत रूपमा बुझ्नको लागि सहयोग गर्दछ जुन पहिले कहिल्यै भएको छैन।
अहिलेसम्म सेटोनिक्स स्थापनाको पहिलो चरण मात्र पूरा भएको छ। यसको दोस्रो चरणको काम यो वर्षको अन्त्यसम्ममा सम्पन्न हुनेछ। त्यसपछि वैज्ञानिकहरू रेडियो आकाशमा लुकेका थप कुराहरूमा पुग्न सक्षम हुनेछन्।
प्रकाशित: १२ भाद्र २०७९, आईतवार