
काठमाडौं ।
गुल्मीको छत्रकोट गाउँपालिकाले विद्यालयमा मोबाइल फोन निषेध गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले विद्यालयहरुमा मोवाइल फोनलाई निषेध गरिएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जनाकारी दिए। अध्ययन, अध्यापनलाई अझै प्रभावकारी बनाउनका लागि यस्तो निर्णय गरिएको पाण्डेले बताए।
शिक्षक र विद्यार्थीहरुले कक्षा कोठामै फेसबुक चलाउने, मोवाइलका आवाजहरुले अध्ययन, अध्यापनमै असहजता आउने अनुगमनका क्रममा पाइएकाले मोवाइल फोन विद्यालयमा निषेध गरिएको पाण्डेले बताए।
विद्यालयमा मोवाइल फोन निषेध गर्ने निर्णयलाई कार्यन्वयन गर्नका लागि प्रभावकारी रुपमा अनुगमन गर्ने र निर्णय कार्यन्वयन नगर्नेलाई कारवाही गर्ने पाण्डेले बताए। गाउँपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि योजनाहरु बनाएको भन्दै शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ राखेर काम गर्ने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका भित्र ४८ वटा सामुदायिक विद्यालयहरु रहेका छन् भने ४ वटा संस्थागत बिद्यालयहरु गरी ५२ वटा विद्यालयहरु रहेको गाउँपालिकाले जनाएको छ । गुल्मी जिल्लामा ५५७ सामुदायिक बिद्यालय ५४ संस्थागत विद्यालयहरु रहेका छन् । जिल्लामा करिब ६८ हजार बिद्यार्थीहरु रहेको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए। गोरखापत्रबाट
प्रकाशित: १० भाद्र २०७९, शुक्रबार