
काठमाडौं ।
प्रदेश १ सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालय (एमटीयू)ले उच्च शिक्षामा सबैको पहुँचलाई सुनिश्चित गर्ने गरी शैक्षिक योजना अगाडि बढाएको छ। देशकै पहिलो प्राविधिक विश्वविद्यालयका रूपमा स्थापना भएको मनमोहनले स्कुल अफ इन्जिनियरिङअन्तर्गत स्नातक तहको बीई इन सिभिल इन्जिनियरिङ र बीई इन इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सको पठनपाठनलाई अघि बढाएको छ।
गत वर्षबाटै सुरु भएको दुवै विषयको अध्ययनमा न्यून शुल्क निर्धारण गरिएका कारण मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । गत आर्थिक वर्ष विश्वविद्यालयले सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ २४/२४ जना विद्यार्थी भर्ना गरेर उच्च शिक्षा अध्यापनलाई अगाडि बढाएको हो। विश्वविद्यालयले सुलभ दरमा गुणस्तरीय शिक्षा दिने नीतिमा जोड दिएको छ।
विश्वविद्यालयका डिन प्रचण्डमान श्रेष्ठले भने, “हामीले गुणस्तरीय शिक्षामा जोड दिएका छौँ र न्यून शुल्कमा उच्च शिक्षा दिने गरी शैक्षिक योजना बनाएर विद्यार्थी भर्ना लिएर पठनपाठन गरिरहेका छौँ ।” मनमोहन विश्वविद्यालयको मुख्य रणनीति नै सुलभ दरमा गुणस्तरीय शिक्षा प्रदान गर्नुभएको भन्दै डिन प्रचण्डमान श्रेष्ठले विश्वविद्यालय आफ्नो रणनीति सफल बनाउन अघि बढेको बताए।
विद्यार्थीले एमटीयूबाट चार वर्षे डिप्लोमा इन्जिनियरिङ कोर्ष पाँच लाख ५० हजार रुपियाँ खर्च गरेर पढ्न पाउने छन् । मनमोहन प्राविधिक विश्वविद्यालयले सैद्धान्तिकसँगै अभ्यासगत सिकाइमा विशेष जोड दिने नीति लिएको छ ।
“हामी अभ्यासमा बढी जोड दिन्छौँ, सैद्धान्तिक सिकाइ ४० प्रतिशत र अभ्यासगत सिकाइ ६० प्रतिशत हुने गरी हामीले कोर्ष तयार गरेका छौँ,” डिन श्रेष्ठले भने । अन्य विश्वविद्यालयले सञ्चालन गरेको इन्जिनियरिङ कोर्षमा सैद्धान्तिक शिक्षा ६० प्रतिशत र व्यावहारिक सिकाइ ४० प्रतिशतभन्दा कम रहने गरेको उनले जानकारी दिए।
सैद्धान्तिक सिकाइमा निर्भर हुँदा कार्यस्थलमा असफल हुनुपर्ने समस्यालाई ध्यानमा राखेर विश्वविद्यालयले व्यावहारिक र अभ्यासमा आधारित सिकाइलाई जोड दिएको हो। सिकाइलाई प्रभावकारी बनाउन कक्षा कोठालाई आधुनिक तथा वातावरणमैत्री बनाउनुका साथै करोडौँको लगानीमा अत्याधुनिक ल्याब स्थापना गरेको छ।
झन्डै १० करोडको लागतमा विश्वविद्यालयले इलेक्ट्रिकलतर्फ मेसिन ल्याब, बेसिक इलेक्ट्रिक ल्याब, कन्ट्रोल ल्याब र इलेक्ट्रोनिक्स ल्याब र सिभिलतर्फ पनि फ्रुट मेकानिक्स, हाइड्रोपावर, हाइवे, मेटेरियल, स्वायललगायत एक दर्जनभन्दा बढी ल्याब स्थापना भइसकेको कार्यक्रम संयोजक इन्जिनियर नरेन्द्रकुमार डाँगीले जानकारी दिए।
विश्वविद्यालयले कम्प्युटर ल्याब र विद्यार्थीका लागि आधुनिक पुस्तकालय पनि स्थापना गरिसकेको छ।
“दक्ष प्राध्यापक र नयाँ पाठयक्रम भएर मात्र सफल इन्जिनियर उत्पादन हुने होइन, विद्यार्थीलाई अभ्यासबाटै दक्ष बनाउनु पर्छ,” रजिस्ट्रार डा. दिलनाथ फुयालले भने, “एमटीयूूमा चार वर्ष पढेर उत्पादन भएका इन्जिनियरहरूले कार्यस्थलमा जाँदा फेरि तालिम लिन नपरोस् र तुरुन्तै रोजगार बन्न सकूून् भन्नेमा हामीले विशेष ध्यान दिएका छौँ।”
मोरङको बूढीगङ्गा गाउँपालिका–४ मा रहेको विश्वविद्यालयले विद्यार्थीलाई यातायात तथा होस्टलको सुविधा दिएको छ। विश्वविद्यालयले कमाउँदै पढ्ने ‘अर्न टु लर्न’ कार्यक्रम पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। नयाँ कार्यक्रमसँगै विद्यार्थीले विश्वविद्यालयकै ल्याबमा काम गरेर कमाउन सक्ने छन्।
विश्वविद्यालयले १० वर्षे रणनीति तर्जुमा गरेर स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाइड साइन्स एन्ड टेक्नोलोजी र स्कूल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेज कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । तीनओटा स्कूलअन्तर्गत दस वर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि (पीएचडी)समेत गरी विभिन्न २८ वटा विषय पढाउने लक्ष्य लिएको छ । त्यसबाट प्रत्येक वर्ष २८ सय ३१ जना विद्यार्थी लाभान्वित हुने विश्वविद्यालयले जनाएको छ।
दोस्रो ब्याचको भर्ना खुल्दै
मनमोहन प्राविधिक विश्वविद्यालयले स्कुल अफ इन्जिनियरिङतर्फ दोस्रो ब्याच खोल्ने तयारी भइरहेको जनाएको छ। डिन प्रचण्डमान प्रधानका अनुसार दोस्रो ब्याचमा ४८/४८ जना विद्यार्थी भर्ना गर्ने तयारी छ। पहिलो वर्ष विद्यार्थीको बढी आकर्षण भए पनि २४ जनाभन्दा बढी भर्ना गर्न नसकेको भन्दै आवश्यक पूर्वाधार तयार गरेर विश्वविद्यालयले विद्यार्थी सङ्ख्या दोब्बर बनाउन लागेको हो। गोरखापत्रबाट
प्रकाशित: ९ भाद्र २०७९, बिहीबार